यी ५ किसान, जसलाई सरकारले नै पुरस्कृत गर्यो « Eglish Khabarhub

यी ५ किसान, जसलाई सरकारले नै पुरस्कृत गर्यो



काठमाडौं । देशमा काम पाइएन भन्दै पढेलेखेका युवाहरु नै विदेशिने प्रवृत्ति बढ्दो छ नेपालमा ।

तर, नेपालमै कृषि पेशा गरेर नै करोडौँको मनग्ये आम्दानी गर्नेहरु पनि छन् यहाँ । देशभित्र कृषि ब्यवसाय गरी यही कुरालाई मध्य नजर गर्दै सरकारले ५ जना कृषकलाई सम्मान गरेको छ ।

गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ घर भएका राजेन्द्र पन्त गाई पालन व्यवसाय गर्दै आएका छन् । २०५२ सालदेखि काम धेनु गाई पालन केन्द्रका रुपमा दर्ता भई ३ सय ५७ रोपनी जग्गामा गाईपालन गर्दै आएका छन् ।

उनले होल्स्टीज तथा जर्सी जातका उन्नत गाई पालन गरेका छन् । उनले १७ रोपनी जग्गामा २ सय ६० वटा दूधे गाई र ४० बाच्छा/बाच्छीका लागि गोठ बनाएका छन् ।

गाईलाई आवश्यक पर्ने घाँस पनि आफैले छुट्टै ३ सय ४० रोपनी जग्गामा उमार्ने गरेको बताउदै गाई पालन सँगै गाई प्रशिक्षण केन्द्र, दाना उत्पादन घर, चिलिङ्ग भ्याट, हाइड्रोपोनिक, पराल राख्ने घर र च्याफ कटर घर समेत छ । वार्षिक १ करोड ५ लाख रुपैयाँ आम्दानी गर्ने गरेका उनले दैनिक १४ सय देखि १५ सय लिटर दूध उत्पादन थर्ने गर्छन् ।

उनको फार्मबाट उत्पादित दूध दैनिक रुपमा ५८ रुपैयाँ लिटरमा खरिपाटी भक्तपुर डेरीमा विक्री हुने गरेको छ । ६ जनाको परिवार सदस्यहरुसँग मिलेर गाई पालन गर्दै आएका पान्तले फर्ममा ३५ जनालाई रोजगारी समेत दिएका छन् ।

अबको समयमा गाई बेच्ने र अर्गानीक दूध उत्पादन गर्दै जाने योजना पन्तको छ ।

‘पहिला घासमा आधारित नभई गाई पालन गरेर हुँदैन्, गाई पालनका लागि डेढ रोपनी जग्गामा घाँस रोपेर गाई पालन गर्नेहरु बढी मात्रामा सफल हुन्छन्, हामी साग पकाएर खान्छौँ, गाई काचै खान्छ त्यती हो फरक,’ पन्तले भने ।

उनी यो वर्ष राष्ट्रपति सर्वोत्कृष्ट पुरस्कारबाट र २ लाख पुरस्कार राशिबाट सम्मानित भएका छन् । उनी यस्तो सम्मानले नेपालमा किसानलाई कृषि पेशामा लाग्न सहयोग पु्याउने बताउँछन् ।

यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २३ का योगेन्द्र खड्का व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका छन् । २०७० सालमा बाख्रा पालन गर्ने उद्देश्यले जगतपुर एग्रो प्राइभेट लिमिटेड कम्पनी संचालनमा छ ।

अहिल फार्ममा बयर बाख्रा पालिएको छ भने अष्ट्रेलिया र साउथ अफ्रिकाबाट उन्नत नस्लका बयर बाख्राहरु ल्याएर व्यवसाय सुरु गर्ने तयारी खड्काको छ ।

१२ बिगा क्षेत्रफलमा फैलिएको बाख्रा फार्ममा आधुनिक पुर्वाधारको पनि व्यवस्था गर्ने तयारी खड्को छ । ६ बिगा भन्दा बढी जमिनमा उन्नत घाँस लगाइएको छ भने २७५ वटा बयर बाख्रा फर्ममा छ । फर्ममा ४ जना परिवार सदस्यले नै मिलेर काम गर्छन् भने ७ जनाले रोजगारी पाएका छन् ।

‘वार्षिक २ हजार जनाले अप्रत्यक्ष रुपमा रोजगार पाइरहेको छन्, १ करोड ३३ लाखको कारोबार हुँदा ८ लाख फाइदा हुन्छ,’ उनले भने ।

उनले आफ्नो व्यवसायलाई म्यादीमा समेत फैलाउने तयारीमा छन् । अहिलेसम्म आफुले ३ सय बढी पाठापाठी विक्री गरेको सुनाए ।

‘झापा, नुवाकोट, रामेछाप इलाममा मैले बेचेका बाख्रा व्यवसायीहरु धेरै सफल भएको देखेको छु, अब यसलाई म्याग्दीसम्म पुर्याउने र आफ्नो योजना देशभर व्यवसाय गर्ने छ,’ खड्काले भने ।

खड्का यो वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका हुन् । १ लाख रुपैयाँको पुरस्कार पाएका खड्का कृषि पेशा सम्मानको हुनेमा ढुक्क छन् ।

लामो समय विदेशमा बसेका बाँके जिल्लाका लाल बहादुर सुनार आफु च्याउ खेतीबाट धेरै सन्तुष्ट भएको बताउँछन् । २०६९ सालदेखि स्यामसुन्दर च्याउ खेती गर्दै आएका उनी वार्षिक २७ लाख रुपैयाँ आम्दानी गर्ने गर्छन् । यस्तै उनले छुट्टै धनिया उत्पादनबाट वार्षिक ३ लाख रुपैयाँ आमदानी गर्ने गरेका छन् ।

आफ्नो एक बिगा जग्गा मध्ये उनले ११ कट्टामा च्याउ खेती गर्दै आएका छन् । उनी च्याउको माग बजारमा बढ्दै गएको बताउँछन् ।

‘सुरुमा १६ हजार लगानीमा अस्थाई टहराको घर बनाएर गरेको थिए, अहिले ४ वटा कोठामा गोब्रे च्याउ र ४ वटामा कन्य च्याउ लगाएको छु, बजारमा माग बढी छ, पुरा गर्न सकिएको छैन् ’ सुनारले भने ।

२०२९ सालदेखि खाने माछा पालन सुरु गरेका धनुषाका बौएलाल मुखियाले २०४७ सालबाट मुखिया मत्स प्रजनन फार्मको नाममा माछालाई व्यवसायिकता दिने निर्णय गरेका हुन् । उनको फर्ममा १४ बिगामा फैलिएको छ भने ४३ वटा पोखरीमा सिलबर काप, नैनी, रउ, विगेतलगायतका माछा उत्पादन हुन्छ । जसबाट वार्षिक २ करोड ५० लाख रुपैयाँको कारोबार हुन्छ ।

‘म एकदमै सन्तुष्ट छुँ, ५० रुपैयाँ लिएर माछा पालन सुरु गरेको अहिले २ वटै छोरा यसमा लागेका छन्, म यो देश भरीमा यो माछा व्यवसायलाई विस्तार गर्न चाहन्छु,’ मुखियाले भने ।

पछिल्लो समय तराईमा केराको उत्पादन बढ्दो छ । कैलालीका राम बहादुर कुँवर केरा खेतीबाटै वार्षिक २ करोड रुपैयाँ आम्दानी गर्छन् । सबै खर्च कटाएर ६० लाख रुपैयाँ आफुलाई नाफा हुने अनुभव कुँवरको छ ।

२०४३ सालदेखि केरा खेती सुरु गरेका कुँवरको टिकापुर र जोशिपुरमा गरी २ वटा केरा फार्म रहेको छ । ३७ बिगा जग्गा भाडामा लिई उनी केरा खेती गर्दै आएका छन् । उनको फार्मबाट वार्षिक २ हजार मेट्रिक टन केरा उत्पादन हुने गर्छ । उनी आफ्नो परिवारका ६ जना सदस्य मिलि सोही केरा खेतीमा काम गर्दै आएका छन् । यस्तै उनले अन्य ३५ जनाले केरा फर्ममा रोजगारी पाएका छन् ।

‘२०४६ सालमा मैले एक कट्ठाबाट सुरुवात गरेको हुँ, पहिले पढेलेका सबै अन्य विषयमा जान्थे, पढेलेखेकाले कृषि गर्दा के हुँदो रैछ भनेर यसमा लागेको हुँ, कृषि भन्दा बाहिर त केही छैन जस्तो लाग्छ,’ कुँवरले भने ।

उनी जग्गा भाडामा लिदा ५ वर्ष लिजमा मात्र पाइने भएकाले थोरै समस्या रहेको बताउछन् ।

सरकारले प्रत्येक वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार बितरण गर्दै आएको छ । २०७१ सालदेखि कृषकहरुको योगदानलाई सम्मान गर्ने उद्देश्यले यसरी कृषकहरुलाई पुरस्कृत गर्न थालिएको हो ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि जिल्ला समितिले कृषकको नाम छनोट गर्ने र प्राविधिक उपसमिति गठन गरी प्रत्यक जिल्लाका ३ कृषकहरुलाई जिल्लाको उत्कृष्ट कृषक घोषणा गरी त्यसबाट पनि छनोट गर्ने प्रकृया रहेको छ ।

Publish on: