किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका सेयर, कुन कम्पनीको सेयर मूल्य कति ? « Eglish Khabarhub

किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका सेयर, कुन कम्पनीको सेयर मूल्य कति ?



काठमाडौँ । सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा शेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई शेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ ।

सबै नागरिकलाई शेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै शेयर मूल्य ५०० भन्दा माथि छ । धेरैजसो कम्पनीको शेयर मूल्य न्यूनतम बिन्दुमा छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार चिलिमे जलविद्युत् कम्पनीको मात्रै शेयर मूल्य ७४० छ । यस्तै बुटवल पावर कम्पनीको मूल्य ४३६ छ । बाँकी रहेका १६ वटा कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

गत फागुनमा थप शेयर निष्काशन गरेपछि बुटवल पावर कम्पनीको शेयरसमेत बजारमा निरन्तर ओरालो लागिरहेको छ । सरकारले सबै नागरिकलाई शेयर उपलब्ध गराउने बताइरहँदा शेयर बजारमा भने जलविद्युत् कम्पनीको उपस्थिति चिन्ता गर्नुपर्ने अवस्थामा पुगेको छ ।

नेशनल हाइड्रो पावर कम्पनीको शेयर त खरीद मूल्यभन्दा पनि तल झरेको छ । सो कम्पनीको प्रतिकित्ता शेयर ८६ मा खरिद बिक्री भइरहेको छ । गत वर्ष ६५६ मूल्यमा खरिद बिक्री भएको अपि पावर कम्पनीको शेयर हाल २७४ मा खरिद बिक्री भइरहेको छ । यस्तै अरुण कोबेलीको २५५, अरुण भ्यालीको १४०, बरुण हाइड्रोपावर कम्पनीको शेयर १४१ मूल्यमा खरीद बिक्री भइरहेको छ ।

निरन्तर ओरालो लागेको शेयर बजारमा अरु समूहजस्तै जलविद्युत् कम्पनीको शेयर मूल्यपनि ओरालो लागेको छ । यस्तो अवस्थाले ठूला लगानीकर्तालाई तत्काल बेफाइदा नभए पनि साना लगानीकर्तालाई भने समस्या पारेको छ ।

स्टकका अनुसार छ्याङ हाइड्रो पावरको शेयर १२८ मा खरीद बिक्री भइरहेको छ । हिमालयन पावर पार्टनरको २७४, खानीखोला हाइड्रो पावरको १०६ मा शेयर खरीद बिक्री भइरहेको छ । सो कम्पनीको शेयर गत वर्ष पनि २०५ बिक्री भएको थियो ।

यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको १६५, न्यादी समूहको १६०, राधी विद्युत् कम्पनीको २३२, रैराङ हाइड्रोको १५५, रिडी हाइड्रो पावरको १२२, सानिम माइक्रोको ३१९, सिनर्जी पावरको ११८ र युनाइटेड मोदीको प्रतिकित्ता १६६ मा शेयर खरिद बिक्री भएको छ ।

शेयर बजारमा जलविद्युत् कम्पनीको शेयर नाजुक अवस्थामा नै छ । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले हकप्रद तथा बोनस शेयर वितरण गर्ने प्रक्रियालाई तीव्रता दिएका कारण पनि शेयर बजारमा दबाब परेको छ ।

शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर लगातार गिरावट भइरहँदा नेपाल धितोपत्र बोर्डले विभिन्न १० वटा जलविद्युुत् कम्पनीलाई गत आवमा साधारण शेयर बिक्रीका लागि अनुमति दियो । यस्तै शेयर बिक्रीको तयारीमा रहेका कम्पनीको संख्या ११ छन् ।

शेयर बजारको नियामक निकाय उक्त बोर्डले भने लगानीकर्ताले आफ्नै विवेक प्रयोग गरेर कुन कम्पनीको शेयरमा लगानी गर्ने भन्ने निक्र्योल गर्दा राम्रो हुने सुझाव दिएको छ ।

बजार घट्दैमा आत्तिने र बजार बढ्दैमा मात्तिने अवस्था नरहेको भन्दै विवेक प्रयोग गरेर शेयर खरिद गर्दा उपयुक्त हुने र बजारले नै मूल्य निर्धारण गर्ने भएकाले लगानीकर्ता नै जिम्मेवार बन्नुपर्ने बोर्डका प्रवक्ता नीरज गिरीको भनाइ छ । रासस

Publish on: