नेपाली काँग्रेसको देशव्यापी प्रदर्शन, सरकारका क्रियाकलापको बिरोध « Eglish Khabarhub

नेपाली काँग्रेसको देशव्यापी प्रदर्शन, सरकारका क्रियाकलापको बिरोध



काठमाण्डौमा काँग्रेसको बिरोध प्रदर्शन

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका पछिल्ला गतिबिधिको बिरुद्ध र संबिधानको रक्षाको लागि भन्दा आज देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको छ । विभिन्न जिल्ला र स्थानमा आयोजित कार्यक्रममा काँग्रेस नेताहरुले सरकार क्रियाकलापप्रति कटाक्ष गरेका छन् ।

काँग्रेस नेताहरु, कस्ले के भने ?

यता, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थिरता र समृद्धि बोलेर मात्र नहुने भएकाले व्यवहारमा काम गरेर देखाउन सरकारसँग आग्रह गरे ।

काँग्रेस काठमाडौँले आज आयोजना गरेको विरोध पदयात्रापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनका बेला बोलेका स्थिरता र समृद्धिका नारा व्यवहारमा कार्यान्वयन गर्न वर्तमान सरकार अग्रसर नदेखिएको आरोप लगाए ।

काँग्रेसकै नेतृत्वमा २००७ सालदेखि २०६२\६३ सम्मका सबै लोकतान्त्रिक आन्दोलन सफल भएको र काँग्रेसको नेतृत्वमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई सबै तहका निर्वाचन सम्पन्न भएको जिकिर गर्दै नेता सिंहले भने, “सरकारले नचाहिने मुद्दामा हात हालेर जनतालाई दुःख दिने काम गरेको छ, हामी यसमा खबरदारी गर्न चाहन्छौँ ।” जनताको तागत के हो भन्ने कुरा पछिल्लो समयमा चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा उजागर भएको काँग्रेसका पूर्वमहामन्त्री सिंहले बताए ।

कार्यक्रममा काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना गर्न सत्ता पक्षले उदासीन देखाएको आरोप लगाउँदै संविधान र कानून सबैले मान्नुपर्ने बताए ।

काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत र नवीन्द्रराज जोशी, काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, कोषाध्यक्ष गोविन्द पुडासैनीलगायतले बढेको कर फिर्ता लिन महँगी नियन्त्रण गर्न एवं महिलामाथि हिंसा गर्नेलाई कडा कानूनी कारवाही गर्न सरकारसँग माग गरे ।

राजधानीको शान्तिवाटिकाबाट शुरु भएको विरोध पदयात्रा भोटाहिटी–असन–जुद्धशालिक–नयाँ सडक हुँदै पुनः शान्तिवाटिका पुगी कोणसभामा परिणत भएको थियो । पदयात्रामा फोहरमैला व्यवस्थापन गर्, ६५ वर्षे वृद्धभत्ता कायम गर्, भूकम्पपीडितलाई थप एक लाख अनुदानको व्यवस्था गर् लगायत नाराबाजी लगाइएको थियो । पदयात्रामा काँग्रेस केन्द्रीय सदस्य, सांसद, पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाको सहभागिता थियो ।

७७ जिल्लामा विरोध प्रदर्शन
प्रमुख प्रतिपक्षी दल काँग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनानुसार आज ७७ जिल्लामा विरोध प्रदर्शन सम्पन्न भएको पार्टीले जनाएको छ । प्रदर्शनमा समग्रमा पार्टीका पाँच लाखभन्दा बढी नेता, कार्यकर्ता र शुभ चिन्तकको सहभागिता रहेको काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रदर्शनमा प्रा डा गोविन्द केसी र सरकारबीच भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न दबाब दिने, मूल्य वृद्धिविरुद्धको जनभावनालाई प्रकट गर्ने, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयनमा दबाब बढाउने लगायत विषयमा केन्द्रित रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैबीच, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले निर्वाचनका समयमा गरेका वाचा वाम गठबन्धनले पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

काँग्रेस चितवनले आज आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा उनले मूल्य वृद्धि भएको, कर बढेको र काँग्रेस नेतृत्वको सरकारले गरेका निर्णय खारेज गरेकोमा आपति जनाउँदै विकास र समृद्धिका लागि काँग्रेस बाधक नहुने बताए ।

केन्द्रीय सदस्य भण्डारीले अब विकास निर्माणको समय भएको उल्लेख गर्दै “पार्टी सुधारका लागि हात काम्ने दाजुभाइलाई बिदाइ गरेर युवा पुस्ताले नेतृत्व लिनुपर्छ भने ।”

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले स्थानीय तहमा कर बढेको, मजदुर आन्दोलनमा गोली चलेको र क्यान्सर अस्पतालको भोगचलनमा रहेको जग्गामा सिटी हल निर्माण गर्न लागिएकोमा आपति जनाए ।

यसैबीच, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य डा मीनेन्द्र रिजालले जनताका मतबाट बनेका वर्तमान सरकार जनमुखी हुनुपर्ने बताए ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति मोरङद्वारा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारलाई विकास तथा गरिबी न्यूनीकरणका योजना ल्याउन सुझाव दिए ।

सोही अवसरमा काँग्रेसका केन्द्रीय सदस्यत्रय अमृत अर्याल, डिला संग्रौला र हसन अन्सारीले जनता महँगीका मारमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

स्थानीय वीरेन्द्र सभागृहबाट निस्किएको विरोध ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै महेन्द्र चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

यसैबीच, नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन् ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोपसमेत लगाए । उनले संवैधानिक व्यवस्थाअनुसार संसद्मा सभामुख र उपसभामुख अलगअलग दल र बेग्लाबेग्लै लिंगको हुनुपर्ने व्यवस्थामा भएकामा अहिले एउटै पार्टीको भएकाले संविधानको उल्लंघन भएको धारणा व्यक्त गरे ।

एक प्रश्नको जवाफमा उनले वर्तमान कामु प्रधानन्यायाधीश ३० वर्ष न्याय क्षेत्रमा काम गर्दा उहाँको शैक्षिक प्रमाणपत्र छानबिन नहुनु अहिले प्रमाणपत्रको छानबिन गरिनु गलत भएको बताउँदै कसैबाट पनि स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप हुनु हुँदैन भने ।

एक फरक प्रसंगमा नेता गच्छदारले आगामी महासमिति बैठक अगाडि मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) र काँग्रेसबीच केन्द्रदेखि वडासम्म नेता र कार्यकर्ताको समायोजन हुने बताए ।

उनले यस सम्बन्धमा सोमबार नै काँग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच सहमति कायम भएको जानकारी दिए ।

यसैबीच, संसदीय सुनवाइ विशेष समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई सिफारिस गर्न बसेकोे विशेष समितिको बैठक सहमतिको आधारमा नै सारिएको बताए ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा ठोस निर्णय लिनका लागि सबै सदस्यको सहमतिका आधारमा बैठकको मिति सारिएको स्पष्ट पारे । सदस्य कार्कीले आगामी बैठकमा हुने छलफलबाट नै सार्थक निष्कर्ष लिने विश्वास व्यक्त गरे ।
यता, नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले वर्तमान सरकारले संविधानको मर्यादा पालना नगरेको आरोप लगाएका छन् ।

जिल्ला पार्टीले आज आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानको सम्मान गर्न सरकारलाई आग्रह गरे ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले बढ्दो महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे ।

काँग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस कसैसँग सम्झौता गर्दैन भने । रासस

तनहुँको कार्यक्रमलाई संबिधान गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेल

काँग्रेसले नारायणगढमा गरेको बिरोध प्रदर्शन

काँग्रेले हेटौंडामा गरेको प्रदर्शन

Publish on: