काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा गरेर बैंकहरुको कल निक्षेपमा १० प्रतिशतको सीमा तोकेको छ । कल डिपोजिटकै कारण यसअघि बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति तोडिएको थियो । त्यसपछि राष्ट्र बैंकले बैंकहरुको कल डिपोजिटमा नजर लगाएको हो ।
पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकसँग २६ खर्ब ५६ अर्ब रुपैयाँको निक्षेप छ । जसमा कल डिपोजिट अन्तर्गत बैंकहरुमा २ खर्ब ८४ अर्ब रुपैयाँ छ । औसतमा वाणिज्य बैंकहरुसँग कलमा १०.७१ प्रतिशत रकम निक्षेप छ । यसले राष्ट्र बैंकले ल्याएको नीति कार्यान्वयन गर्न सहज देखिएपनि केही वाणिज्य बैंकलाई भने निकै मुस्किल पार्ने देखिएको छ ।
बैकर्स संघका अध्यक्ष रहेका ज्ञानेन्द्र ढुंगाना सिइओ रहेको नेपाल बंगलादेश बैंकको पनि कुल निक्षेपमा कलको हिस्सा १४.४० प्रतिशत रहेको छ ।
१० प्रतिशत कल डिपोजिटको सीमाले सबैभन्दा बढी समस्या प्राइम बैंकलाई पार्ने छ । पुस मसान्तसम्ममा प्राइम बैंकसँग ७६ अर्ब ७२ करोड रुपैयाँको निक्षेप छ । जसमा कल डिपोजिटमा १९ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । यो भनेको कुल निक्षेपमा २५ प्रतिशत हो ।
कुल निक्षेपको १० प्रतिशतभन्दा बढी कलमा राख्न नपाउने व्यवस्थाले सबैभन्दा ठूलो असर प्राइमलाई गर्ने छ ।
प्राइमपछि कुल निक्षेपमा कल डिपोजिट बढी हुने बैंकमा एनसीसी बैंक रहेको छ । एनसीसीको पुस मसान्तमा ६४ अर्ब ६५ करोड रुपैयाँको निक्षेपमा कलको हिस्सा १९.७६ प्रतिशत रहेको छ ।
त्यसपछि सिभिल र सेन्चुरी १७ प्रतिशत रहेको छ । नयाँ बैंकसँग मात्र नभएर पुराना र स्थापित भनिएका बैंकको पनि कल डिपोजिट १० प्रतिशत बढी छ । नबिल बैंकको नै कल डिपोजिटको हिस्सा आफ्नो कुल निक्षेपमा १३.८० प्रतिशत रहेको छ ।
बैकर्स संघका अध्यक्ष रहेका ज्ञानेन्द्र ढुंगाना सिइओ रहेको नेपाल बंगलादेश बैंकको पनि कुल निक्षेपमा कलको हिस्सा १४.४० प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षामा भनेको छ,‘वााणिज्य बैंकहरुले स्वीकार गर्ने कल निक्षेपको रकम आफ्नो कुल निक्षेपको १० प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था मिलाइनेछ ।’
राष्ट्र बैंकले मौद्रिक नीतिमा भनेको विषय निर्देशिका बनाएर कार्यान्वयनमा ल्याउने छ । त्यसमा समय सीमा तोकिएको हुन्छ । १४ वटा बैंकको कल डिपोजिट कुल निक्षेपमा १० प्रतिशतभन्दा बढी छ । जसमा १२ वटा बैंकलाई राष्ट्र बैंकको व्यवस्था कार्यान्वयनको लागि ठूलो समस्या पर्ने छ । जसमा सबैभन्दा ठूलो समस्या भोग्ने बैंक प्राइम हुने छ ।
पुस मसान्तसम्मको तथ्यांक अनुसार सबैभन्दा कम आफ्नो निक्षेपमा कल डिपोजिटको हिस्सा हुने बैंकमा कृषि विकास बैंक रहेको छ । कृषि विकास बैंकको कुल निक्षेप १ खर्ब १० अर्ब रुपैयाँमा कलको हिस्सा ०.६६ प्रतिशत रहेको छ ।
बढी निक्षेप हुने बैंकमा पर्ने कृषि विकास बैंकको कलको हिस्सा कम भएको हुँदा औसतमा वाणिज्य बैंकहरुको कलको हिस्सा राष्ट्र बैंकले तोकेको सीमा नजिक पुगेको देखिएको हो ।
एसबिआई, हिमायलन, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक पनि निक्षेपमा कलको हिस्सा कम हुने बैंकमा पर्छन् ।
SHARE YOUR THOUGHTS