काठमाडौं । फागुन लागेपछि बैंकको निक्षेप घटेको छ । फागुन महिनाका दुई हप्तामा बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले घटेको हो ।
राष्ट्र बंकका अनुसार फागुन ३ गते २६ खर्ब ७९ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कूल निक्षेप १० गते २६ खर्ब ७२ अर्ब र १७ गते २६ खर्ब ७७ अर्ब रुपैयाँ छ ।
तर, कर्जा भने लगातार बढिरहेको छ । बैंकहरुले यो अवधिमा ७ अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।
राष्ट्र बैंकका अनुसार फागुन ३ गते २३ खर्ब ९१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कूल निक्षेप १० गते २३ खर्ब ९३ अर्ब र १७ गते २३ खर्ब ९८ अर्ब रुपैयाँ छ ।
निक्षेप संकलन र कर्जा प्रबाहबीच सन्तुलन नमिल्दा चालू आर्थिक वर्षको शुरुवाती महिनादेखि नै बैंकहरुको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमा नाघ्दै आएको छ ।
सीसीडी टाइट भएपछि बैंकहरु थप ऋण दिनसक्ने अवस्थामा रहँदैनन् । केही तरल पुँजी भयो कि बैंकहरुले ह्वात्तै कर्जा बढाइहाल्ने गरेका छन् ।
किनभने स्थिर सरकार आई संविधान कार्यान्वयनमा गएको अवस्थामा लगानीकर्ताहरु थप लगानी गर्न जुर्मुराइरहेका छन् । तर, तरलता अभावका कारण बैंकहरुले ऋणीले मागेजति ऋण दिन सकिरहेका छैनन् ।
सरकारले खर्च गर्न नसकेका कारण पनि बजारमा तरलता नभएको हो । सरकारको असक्षमताको मार अर्थतन्त्रले नराम्रोसँग खेपिरहेको छ ।
गत साउनदेखि यो फागुन १७ गतेसम्मको अवस्था हेर्दा पनि बैंकहरुले संकलन गरेको निक्षेपभन्दा प्रवाह गरेको कर्जा बढी छ । यो अवधिमा बैंकहरुले २ खर्ब ७ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् भने ८ खर्ब ८७ अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।
यो आठ महिनाको अवधिमा बैंकहरुले संकलन गरेको निक्षेपभन्दा ८० अर्ब बढी ऋण दिएका छन् । ८० अर्बको ग्याब भएका कारण बैंकहरु चरम तरलता संकटमा छन् । अर्थात् अब निक्षेप बढेन भने ऋण पनि बढाउन सक्दैनन् ।
SHARE YOUR THOUGHTS