सरकारको स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लामा पुर्याइने, सेवा लिन यसो गर्नुहोस « Eglish Khabarhub

सरकारको स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लामा पुर्याइने, सेवा लिन यसो गर्नुहोस



काठमाडौं । सरकरले आर्थिक वर्ष २०७२/०७३ बाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम यस वर्ष ७७ वटै जिल्लामा पुर्याउने भएको छ । २०७२÷०७३ सालमा कैलाली जिल्लाबाट सुरु गरेको कार्यक्रम अहिले ४० जिल्लामा पुगेको छ ।

सरकारले तत्कालका लागि दुई जिल्ला मोरङ र काभ्रेबाट लागू गरिने जनाएको छ । यो कार्यक्रम प्रदेश नम्बर एकको ७, प्रदेश नम्बर दुईको ५, प्रदेश नम्बर तीनको ५, गण्डकी प्रदेशका ६, प्रदेश नम्बर पाँचका ८, कर्णाली प्रदेशका ९ र सुदुर पश्चिम प्रदेशका ७ जिल्लामा कार्यक्रम सुरु भइसकेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यो कार्यक्रम प्रत्येक नागरिकलाई स्वास्थ्य उपचारमा सरल र सहज पहुँच पुर्याउने उद्देश्यले सुरु गरिएको हो ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनका लागि प्रत्येक वडामा रहेका दर्ता सहयोगीमार्फत यस कार्यक्रममा आबद्ध हुन सकिने छ । बिमीत हुन चाहने परिवारले आफ्नो घरमूली तथा अन्य सदस्यको नागरिकता वा सरकारबाट जारी परिचयपत्र आवश्यक पर्नेछ ।

बिमीत ५ जनासम्मको परिवारको वार्षिक एक लाखसम्मको स्वास्थ्य उपचार पाइन्छ । ५ जनाभन्दाबढी थप सदस्य बापत सुविधाको थैलीमा २० हजार वृद्धि हुँदै जान्छ । परिवारको संख्याअनुसार बढीमा २ लाख रुपैयाँसम्मको उपचार सुविधा पाइन्छ ।

जेष्ठ नागरिकले वार्षिक १ लाख स्वास्थ्य उपचार सुविधा पाउने छन् । हरेक वर्ष बीमा सुविधा लिनका लागि नविकरण गर्नुपर्छ ।

यो सेवा लिँदा बहिरंग, अन्तरंग, आकस्मिक तथा अन्य कक्षका सुविधा पाउने बोर्डले जनाएको छ ।

यो बीमा योजनामा सहभागी हुनका लागि ५ जनासम्मको परिवारलाई वार्षिक ३ हजार ५ सय, ५ जनाभन्दाबढी सदस्य भएको परिवारमा थप प्रति सदस्य ७ सय रुपैयाँ लाग्ने छ ।

७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपांगता भएका व्यक्ति एंव कुष्ठरोगी, एम.डी. आर. टि.भि र एचआईभी संक्रमित बिरामी भएका परिवारलाई योगदान रकममा पूर्ण छुट रहेको बोर्डले जनाएको छ ।

 

Publish on: