तपाईंसँग भएको नोट नक्कली हो कि सक्कली ? राष्ट्र बैंक भन्छ- यसरी चिन्नुहोस् « Eglish Khabarhub

तपाईंसँग भएको नोट नक्कली हो कि सक्कली ? राष्ट्र बैंक भन्छ- यसरी चिन्नुहोस्



काठमाडौं । पैसा अर्थात् नोट मान्छेको जिन्दगीको अपरिहार्य चीज हो ।

पैसा कमाउन मान्छेले अनेक गर्छन् । चोरी, भ्रष्टाचार, हत्या, ठगी गरेर भएपनि मान्छेहरु पैसा कमाउन पछि पर्दैनन् ।

त्यतिमात्र कहाँ हो र मान्छेले पैसा कमाउनका लागि नक्कली नोट नै छापिदिन्छन् । जसको सिकार तपाईहामी हुन्छौं ।

अनैतिक क्रियाकलापबाट दुई चार दिन पैसा कमाइएला । तर, अन्तिममा फसिन्छ । त्यसैले पैसा कमाउनका लागि अनैतिक कार्य गर्नु हुँदैन ।

तर, समाजमा भएका खराब मान्छेहरुले रातारात धनाड्न हुनका लागि अनैतिक काम गर्छन् ।

नेपालमा पनि नक्कली नोट छाप्नेहरुको गिरोह छ । बेलाबेलामा नक्कली नोटसहित प्रहरीले यस्ता कारोबारीलाई पक्रेर कारबाही पनि गरिरहेको छ ।

नक्कली नोट छापेर तपाईंहामीलाई ठगहरुले ठगिरहेका हुन्छन् । तर, हामी सतर्क हुने हो भने ठगिनबाट बचिन्छ ।

नेपालमा नोट छाप्ने र वितरण गर्ने अधिकार राष्ट्र बैंकलाई मात्रै छ । राष्ट्र बैंकले नोट छापेर चलनचल्तीमा पठाएपछि मात्रै त्यसको मूल्य हुन्छ । नत्र त्यो नोट कागजको खोस्टासरह हो ।

राष्ट्र बैंकले नक्कली नोटका कारोबारीबाट आम सर्वसाधारण नठगिउन् भनेर सतर्कता अपनाउन आग्रह गरेको छ । तपाईंले कसैबाट नोट लिनुअघि राष्ट्र बैंकले दिएको टिप्स अनुसार नोटको पहिचान गर्नुभयो भने नक्कली हो वा सक्कली हो भनेर छुट्याउन सक्नुहुन्छ ।

राष्ट्र बैंकले सक्कली र नक्कली नोट छुट्याउने भनेर जानकारी समेत दिएको छ ।

कसरी चिन्ने ?

राष्ट्र बैंकका अनुसार कुनै नोट हातमा लिएर छाम्नेवित्तिकै नक्कली हो वा सक्कली भनेर थाहा पाउन सकिन्छ । त्यस्तै, थोरै पानीले भिजायो भने नक्कली नोट लथ्रक्क भिज्छ तर सक्कली भिज्दैन । ५०० र १००० रुपैयाँका सक्कली नोटमा गोल्डेन कलरमा एनआरबी लेखिएको हुन्छ । तर नक्कलीमा हुँदैन ।

वाटरमार्कः नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट÷मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ भने त्यो नोट सक्कली हो ।

त्यतिमात्रै होइन, सक्कली नोटमा लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइएको हुन्छ । नोटको अगाडि पट्टी नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग र पछाडि पट्टी एकवटा हात्ती भएको भाग दुबैतर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

सुरक्षण धागोः सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुबैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

नोटको अग्र भागमा प्रिन्ट गरिएको ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।’

भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरुका लागि राखिएका तीनवटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरु हुन् । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।

यी कुराहरु ध्यान दिनुभयो भने तपाई नक्कली नोटबाट ठगिनुहुन्न ।

Publish on: