काठमाडौं । केहीदिन अघि एक वाणिज्य बैंकका अध्यक्षले बैंकका सिनियर कर्मचारीलाई कार्यकक्षमा बोलाएर सोधे– ‘हामी अर्को वाणिज्य बैंकसँग मर्जरमा जानु पर्यो भने कुन उपयुक्त होला पहिचान गरिराख्नोस् ।’
उक्त बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेको छ । पुँजी पुर्याइसकेको अवस्थामा अध्यक्षले फेरि किन मर्जरको कुरा गरे भनेर एकैछिन त ती कर्मचारी अकमक परे ।
‘पुँजी पुगेकै छ, अहिले नै फेरि मर्जरमा गइहाल्लु पर्ला र हजुर,’ ती कर्मचारीले जवाफ दिए ।
‘तपाईंले भनेको सही हो, तर अवस्था फरक छ, राष्ट्र बैंकले मर्जरमा जाउ भनेर बारम्बार भनिरहेको छ, सायद राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा वाणिज्य बैंकहरुको मर्जरमा कुनै नीति ल्याउँदै हुनुपर्छ,’ अध्यक्षले ती कर्मचारीसँग भने, ‘हामी तयार भएर बस्नु त पर्यो नि ।’
‘त्यो त हो हजुर,’ ती कर्मचारी सहमत भए । अनि फ्याट्टै भने- हामीजस्तै इमर्जिङ ग्रुपको लगानी रहेको बैंकसँग मर्जरमा जाँदा ठीक होला हजुर ।’
अध्यक्षलाई ती कर्मचारीले बैंकको नामै सुनाए । अध्यक्षले मुसुक्क हाँस्दै भने, ‘तयारी थाल्नुहोस् ।’
त्यस्तै अर्को एउटा वाणिज्य बैंकका अध्यक्षले पनि सञ्चालकहरुसँग मर्जरका लागि पार्टनर खोज्नुपर्ने बताए ।
‘अब हामी ठूलै बैंकसँग मर्ज नभइ सुख छैन, राष्ट्र बैंकका उच्च अधिकारीहरुले बोलाएरै मर्जरमा जान भनिरहेका छन्, सायद मौद्रिक नीतिले केही व्यवस्था गर्दैछ,’ अध्यक्षको भनाइ उदृत् गर्दै ती सञ्चालकले सुनाए, ‘अहिले हामी उपयुक्त जोडी खोजिरहेका छौं ।’
त्यस्तै माडबारी समुदायको ठूलो लगानी रहेका ३ वटा बैंकका लगानीकर्ताहरु पनि एकआपसमा मर्जरका संभावना बारे छलफल गरिरहेका छन् ।
‘राष्ट्र बैंकले मौखिकरुपमा मर्जरमा जान दबाब दिइरहेको छ, त्यसैले हामीले आफ्नै समुदायको लगानी रहेका बैंकहरुबीच मर्जरको छलफल गरिरहेका छौं,’ माडवारी समुदायको ठूलो लगानी रहेको एक बैंकका सञ्चालकले भने ।
यतिखेर वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा ठूला लगानीकर्ताहरु आपसमा मर्ज गर्नेबारे कुरा गरिरहेका छन् । पूराना बैंकहरुले नयाँ बैंकलाई ताकेको सम्बद्ध अधिकारीहरु बताउँछन् ।
सिभिल, मेगा, जनता, कुमारी, एनसीसी सेञ्चुरी र सिटिजन्स लगायतका बैंकलाई आफूसँग गाभिनका लागि पूराना बैंकले प्रस्ताव गरिरहेका छन् ।
‘हामीलाई धेरैले जिस्क्याइरहेका छन्,’ मेगा बैंकका एक सञ्चालकले भने, ‘नयाँ बैंकलाई पूराना बैंकले ताकिरहेका छन् ।’
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत् वाणिज्य बैंकहरुको मर्जरलाई विशेष प्रोत्साहन गर्ने घोषणा गरेका छन् । अर्थमन्त्रीको यो घोषणाले राष्ट्र बैंकलाई वाणिज्य बैंकहरुकोबीचको मर्जर अर्थात् बिग मर्जर गर्ने नीति अख्तियार गर्न सजिलो भएको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षकै मौद्रिक नीतिमा बिग मर्जरको नीति लिने तयारी गरेको थियो । तर, अर्थमन्त्री खतिवडाले ‘ग्रीन सिग्नल’ नदिएपछि राष्ट्र बैंक ब्याक भएको हो ।
के गर्दैछ राष्ट्र बैंक ?
बिग मर्जरका विषयमा राष्ट्र बैंकका अधिकारीहरुले सार्वजानिकरुपमा मुख खोलेका छैनन् । तर, भित्रभित्रै भने उनीहरुले बैंकका सञ्चालक र सीइओहरुलाई बोलाएर मर्जरमा जान मौखिकरुपमा दबाब दिइरहेका छन् ।
कसरी संख्या घटाउन सकिन्छ भनेर राष्ट्र बैंकका उच्च अधिकारीहरुबीच तीब्र छलफल भइरहेको छ । संख्या घटाउन सबै सहमत छन् । तर, कुन मोडालीटीमा कसरी घटाउने भन्नेबारे घनिभूत छलफल भइरहेको स्रोतले बतायो ।
‘वित्तीय क्षेत्र सबल र स्थायित्व नभएसम्म मुलुकको अर्थतन्त्र पनि सबल र स्थिर हुँदैन,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘वित्तीय क्षेत्रलाई सबल र स्थायित्व बनाउन संख्या घटाउनुको कुनै बिकल्प छैन ।’
बैंकका साथीहरुलाई बोलाएर मर्जरमा जान सुझाब दिइरहेको ती अधिकरीले स्वीकार गरे ।
‘अर्थतन्त्रको आकारको तुलनामा नेपालमा वाणिज्य बैंकहरुको संख्या धेरै भयो, यो घटाउन आवश्यक छ, त्यसैले तपाईंहरु मर्जरमा जानुहोस् भनेर हामीले भनिरहेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
३ वर्षअघि पुँजी बढाउने नीति लिँदा राष्ट्र बैंकका अधिकारीहरुलाई लागेको थियो कि बाणिज्य बैंकहरुको संंख्या १५ देखि १८ वटामा झर्ने छ ।
तर, पुँजी वृद्धिको नीति आएपछि एउटा मात्रै वाणिज्य बैंकको संख्या घटेर २८ वटामा झरेका छन् ।
SHARE YOUR THOUGHTS