भिजिट नेपाल २०२० लाई केन्द्रित गर्दै पुनर्निर्माणमा जुटेका छौँः मेयर शाक्य « Eglish Khabarhub

भिजिट नेपाल २०२० लाई केन्द्रित गर्दै पुनर्निर्माणमा जुटेका छौँः मेयर शाक्य



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भिजिट नेपाल– २०२० लाई मध्यनजर गर्दै महानगरपालिकाले सम्पदा पुनर्निर्माणको कामलाई तिव्रता दिएको बताएका छन् ।

राजकीर्ति महाविहार (टेवाहाल) भित्र रहेको अक्षेभ्य तथागतको मन्दिर पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका हुन । ‘यतिबेला काठमाडौँ महानगरपालिकाको ध्यान भिजिट नेपाल–२०२० तर्फ केन्द्रित भएको छ,’ मेयर शाक्यले भने, ‘हामी अहिले त्यसैलाई केन्द्रित गरेर महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने जस्ता कार्यमा लागेका छौँ । यो मन्दिर निर्माण पनि त्यसैको एउटा उदाहरण हो ।’

उनले भिजिट नेपाल २०२० मा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पनि महानगरपालिकाले केही बढी मेहनत गर्नु पर्ने भन्दै सबै जनप्रतिनिधिलाई पनि एकाकार भएर अघि बढ्न आग्रह गरे । ‘न्युरोड काठमाडौँको पनि केन्द्रभागमा अवस्थित छ,’ उनले भने, ‘विश्व सम्पदा सूचिमा सुचिकृत क्षेत्रको आसपासमा रहेको न्युरोडलाई हामी नमूना बनाउन चाहन्छौँ । हामी त्यहि अनुसार नै काम गरिरहेका छौँ ।’

उनले अब टे बहालकै आगम घर र संकटा मन्दिर पुर्ननिर्माण छिट्टै सम्पन्न गर्ने बताए । ‘सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम गर्नुहोस्,’ उनले भने, ‘तपाईँहरु सम्पदा निर्माणको योजना लिएर आउनुहोस् बजेट अभाव हुन दिन्न ।’

उनले सम्बोधनकै क्रममा सम्पदा निर्माण एक जनाको मात्र पहलमा सम्भव नहुने भन्दै सबैको सहयोग आवश्यक रहने भन्दै महानगरपालिका भित्रका सम्पदा निर्माणमा सबैको हातेमालो आवश्यक रहने पनि बताए । ‘सांसद विकास कोष, प्रदेश सरकार, महानगर र वडाबाट आउने बजेट एकीकृत गरेर काम अघि बढाउने हो भने धेरै काम गर्न सकिन्छ,’ उनले भने, ‘अन्य ठाउँमा सम्पदा पुर्ननिर्माणमा पनि तपाईँहरु जुट्नुहोस । म सहयोग गर्न तयार छु ।’

मन्दिर काठमाडौं महानगरपालिकाको २२ लाख २४ हजार ९ सय ४६, सांसद विकास कोषको ८ लाख ११ हजार ९ सय ४० र उपभोक्ता समितिको ३६ लाख ६७ हजार ४ सय २ रुपैयाँ सहयोगमा निर्माण भएको हो । मन्दिरको डिजाइन काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको थियो ।

Publish on: