काठमाडौं । बिहीबार दिउँसो १२ बजे । राष्ट्र बैंकका एक महिला कर्मचारीले माछापुच्छ्रे बैंकमा भएको आफ्नो खाताबाट इन्भेष्टमेन्ट बैंकमा भएको अर्को व्यक्तिको खातामा रकम भुक्तानी गर्न आदेश दिइन् । बैंकका कर्मचारीहरुले उनको आदेश माने । र, बिनाचेक तत्काल भुक्तानी दिए ।
यो भुक्तानी सफल भएसँगै अब भुक्तानीका लागि चेक आवश्यक नपर्ने भएको छ । चेकै नकाटी तपाईले आफ्नो खातामा भएको रकम अरुलाई भुक्तानी दिन सक्नु हुनेभएको छ ।
अब २ लाखभन्दा माथिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने, रियल टाइम भुक्तानी हुने, करोडौं जोगिने
राष्ट्र बैंकले एक बैंकबाट अर्को बैंकमा भुक्तानी पठाउँदा तत्कालै भुक्तानी हुने रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) लागू गरेको छ । उक्त प्रणालीको उदघाटन राष्ट्र बैंककै कर्मचारीहरुले गरेका थिए ।
राष्ट्र बैंकले यही भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो । र, २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
आरटीजीएस प्रणाली लागू भएसँगै अब २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु नपर्ने भएको छ । तत्कालका लागि २ लाखभन्दा माथि र २० लाख रुपैयाँभन्दा कमको भुक्तानीलाई स्वेच्छिक गरिएपनि २० लाख रुपैयाँभन्दा माथिको भुक्तानी अनिवार्यरुपमा आरटीजीएस प्रणालीमार्फत् गर्नुपर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए ।
‘केही समयपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी आरटीजीएस प्रणालीमार्फत् गर्ने व्यवस्था मिलाइने छ,’ उनले भने ।
अहिले जुन बैंकको चेक हो, त्यही बैंकको अर्को खातामा साट्दा मात्रै उसैदिन साटिन्छ । अन्तर बैंक चेक साट्दा कम्तिमा १ दिन लाग्छ । तर, आरटीजीएस प्रणाली लागू भएपछि चेक चाहिँदैन । भुक्तानी गर्ने खातावालले फलानो बैंकको फलनो खाता नम्बरमा यति रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिनेवित्तिकै भुक्तानी भइहाल्छ ।
‘यो प्रणाली धेरै सुरक्षित, विश्वसनीय र छिटो छ, जतिखेर भुक्तानीको आदेश दियो, त्यतिखेरै भुक्तानी हुन्छ । आज राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक सरिता भट्टको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट अर्को एकजना व्यक्तिको इन्भेष्टमेन्ट बैंकको खातामा आरटीजीएस प्रणालीमार्फत् तत्कालै भुक्तानी गर्न सफल भएका छौं’ मिश्रले भने ।
प्रतिकारोबार १० रुपैयाँ शुल्क लाग्ने भएकाले यो धेरै सस्तो पनि छ । यो प्रणाली लागू गरेपछि बैंकहरुको पनि ठूलो खर्च घट्ने उनको भनाइ छ ।
सामान्यतया एउटा चेक प्रिन्ट गर्दा बैंकको ७० देखि ८० पैसा खर्च हुन्छ । एउटा बैंका लाखौं ग्राहक हुन्छन् । बैंकहरुले चेक प्रिन्ट गर्न करोडौं रुपैयाँ खर्च गरेका हुन्छन् ।
‘यो प्रणाली लागू भएपछि चेक प्रिन्ट गर्दा लाग्ने बैंकको करोडौं खर्च जोगिन्छ,’ मिश्रले भने, ‘पैसा प्रवाहको गति अर्थात् भेलोपसिटी अफ मनि बढ्छ ।’
अहिले सबै वाणिज्य बैंकहरुले यो प्रणाली कार्यान्वयनमा ल्याइसकेका छन् । केहीदिन ट्र्यायलको रुपमा सञ्चालन गर्ने र त्यसपछि फुल फेजमा यो सिस्टम सञ्चालन गर्ने मिश्रले बताए । यो प्रणाली पूर्णरुपमा लागू भएपछि स्वीफ्टमा हुने बैंकहरुको खर्च पनि घट्ने उनको भनाइ थियो ।
‘आरटीजीएस प्रणाली लागू गर्नु भनेको भुक्तानी प्रणालीमा छलाङ मार्नु हो,’ उनले भने ।
SHARE YOUR THOUGHTS