२९ मंसिर २०८२, आइतबार

अब २ लाखभन्दा माथिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने, रियल टाइम भुक्तानी हुने, करोडौं जोगिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा चेक काट्नु नपर्ने भएको छ । अन्तर बैंक कारोबारमा पनि तत्कालै भुक्तानी हुने रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) लागू भएसँगै अब चेक काट्नु पर्ने युगको अन्त्य भएको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार आरटीजीएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग सम्झौता गरेको छ । राष्ट्र बैंकले यही भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो । र, २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले लागू गर्यो आरटीजीएस प्रणाली

कार्यकारी निर्देशक मिश्र

‘हामीले आज २७ वटै बैंकका सीइओहरुसँग आरटीजीएस कार्यान्वयनको सम्झौता गरेका छौं,’ राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले क्लिकमाण्डूसँग भने, ‘२० लाख रुपैयाँभन्दा माथिको भुक्तानी अनिवार्यरुपमा आरटीजीएस प्रणालीमार्फत् गर्नुपर्छ ।’

पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग भोलि (सोमबार) सम्झौता हुने उनले जानकारी दिए ।

खासमा २ लाखभन्दा माथिको भुक्तानी यो प्रणालीबाट गर्नुपर्ने छ । तर, तत्कालका लागि भने २ लाखभन्दा माथिको भुक्तानीलाई अनिवार्य नगरी स्वेच्छिक गरिएको मिश्रले जानकारी दिए ।

‘केही समयपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी आरटीजीएस प्रणालीमार्फत् गर्ने व्यवस्था मिलाइने छ,’ उनले भने ।

अहिले जुन बैंकको चेक हो, त्यही बैंकको अर्को खातामा साट्दा मात्रै उसैदिन साटिन्छ । अन्तर बैंक चेक साट्दा कम्तिमा १ दिन लाग्छ । तर, आरटीजीएस प्रणाली लागू भएपछि चेक चाहिँदैन । भुक्तानी गर्ने खातावालले फलानो बैंकको फलनो खाता नम्बरमा यति रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिनेवित्तिकै भुक्तानी भइहाल्छ ।

‘यो प्रणाली धेरै सुरक्षित, विश्वसनीय र छिटो छ,’ मिश्रले भने, ‘जतिखेर भुक्तानीको आदेश दियो, त्यतिखेरै भुक्तानी हुन्छ ।’

प्रतिकारोबार १० रुपैयाँ शुल्क लाग्ने भएकाले यो धेरै सस्तो पनि छ । यो प्रणाली लागू गरेपछि बैंकहरुकोृ पनि ठूलो खर्च घट्ने मिश्रले बताए ।

सामान्यतया एउटा चेक प्रिन्ट गर्दा बैंकको ७० देखि ८० पैसा खर्च हुन्छ । एउटा बैंका लाखौं ग्राहक हुन्छन् । बैंकहरुले चेक प्रिन्ट गर्न करोडौं रुपैयाँ खर्च गरेका हुन्छन् ।

‘यो प्रणाली लागू भएपछि चेक प्रिन्ट गर्दा लाग्ने बैंकको करोडौं खर्च जोगिन्छ,’ मिश्रले भने, ‘पैसा प्रवाहको गति  अर्थात् भेलोपसिटी अफ मनि बढ्छ ।’