काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले संख्यात्मक वृद्धिसँगै बढेको अस्वस्थ प्रतिस्पर्धा नै लघुवित्त क्षेत्रको मुख्य चुनौति भएको बताएका छन् ।
शुक्रबार तनहुँको दुलेगौंडास्थित गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको उदघाटन गर्दै शिवाकोटीले यस्तो बताए । यो माइक्रोफाइनान्स राष्ट्र बैंककाब अनुमति लिएर सञ्चालनमा आएको ४७ औं संस्था हो ।
‘लघुवित्त संस्थाहरुले सामाजिक चेतना अभिवृद्धि विस्तार गर्दै उत्पादन पनि बढाइरहेका छन,’ शिवाकोटीले भने, ‘तर, संस्थाहरुको संख्यात्मक वृद्धिसँगै अस्वस्थ्य प्रतिस्पर्धा बढेको छ । जुन यो क्षेत्रकै लागि निकै ठूलो चुनौति बन्दै गएको छ ।’
लघुवित्तमा कर्जाको दोहोरोपना, कर्मचारी तानातान र बढ्दो व्वयस्थापन खर्चको समस्या रहेको उनको ठम्याइ छ । उनले गणपतिलाई यस्ता कठिन चुनौतिहरु पार गर्दै स्वस्थ्यरुपमा अघि बढ्न शुभकामनासमेत दिए ।
भारत सरकारले ५०० र १००० दरका भारु नोट नचल्ने घोषणा गरेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको शिवाकोटीको भनाई छ ।
‘ठूला दरका भारु नचलाउने भारत सरकारको घोषणाले नेपाललाई पनि ठूलै प्रभाव पारेको छ,’ उनले भने, ‘सोही कारण यो वर्ष नेपालको महंगी नियन्त्रणमाथि जाने संभावना छ भने बैंकिङ क्षेत्रको तरलतामा थप चाप पर्नेछ ।’
उदघाटन कार्यक्रममा राष्ट्र बैंक पोखरा क्षेत्रीय कार्यालयका कामु निर्देशक अमर अधिकारी, राष्ट्र बैंक केन्द्रिय कार्यालयका सहायक निर्देशक प्रेम आचार्यलगायत उपस्थित थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले राष्ट्र बैंकले लिएका नीतिहरुलाई शिरोधार्य गर्दै संस्था अघि बढाउने प्रतिवद्धता जनाए ।
SHARE YOUR THOUGHTS