काठमाडौं । नेपालमा भएका हजार र ५ सय दरका भारु नोट सटही ब्यवस्था बारे भारतीय अधिकारीसँग छलफल गर्न गठित समिति भोलि (बुधबार) भारत जाने भएको छ ।
नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठिन समिति बुधबार नयाँ दिल्ली जाने तय भएको हो । समितिमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सह सचिव, नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख र २ जना विज्ञ सहभागी छन् ।
भारत सरकारले अनुमति दिएरै नेपालमा चलेका सो दरका नोट सटही व्यवस्था गरिदिन आफूहरुले आग्रह गर्ने डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिए ।
भारु साटिने अवस्था भएमा ‘कलेक्सन बेसिस’मा साट्ने शिवाकोटीले जानकारी दिए । अर्थात प्रतिबन्धित हजार र ५ सय दरका नोट हुने नेपालीले पहिला सो नोट आफ्नो खाता भएको बैंक वित्तीय संस्थामा जम्मा गर्नुपर्नेछ । अहिले बैंक खाता नहुने नेपालीले नजिकको बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ ।
‘भारत सरकारले नै अनुमति दिएर नेपालमा हजार र ५ सय दरका नोट चलेका हुन्, प्रतिबन्द पछि नेपालमा पनि समस्या परेको छ, हामीले भन्दै आएको कुरा यही हो, छलफलका क्रममा भारतीय अधिकारीहरुसँग यही कुरा राख्छौं,’ डेपुटी गभर्नर शिवाकोटीले क्लिकमाण्डूसँग भने ।
भारतले हजार र ५ सय दरका भारु नोटमा प्रतिबन्द लगाएपछि नेपालमा पनि समस्या परेको छ । यस्तो समस्या समाधानको लागि प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपाल, भारतस्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालय लगायत सरोकारवाल निकाय र अधिकारीहरुले भारतीय पक्षसँग आग्रह गरिरहेका थिए ।
अर्थ मन्त्रालयले गत पुस १ गते सो समिति गठन गरेको थियो । समिति गठन गरेको जानकारी दिएर भारतीय पक्षसँग छलफलको समय माग्दा भारतीय पक्षले कुनै जानकारी दिएको थिएन । अघिल्लो सातामात्रै भारतले औपचारिक रुपमा छलफलको लागि नेपाली पक्षलाई बोलाएपछि शिवाकोटी संयोजकत्वको टोली बुधबार भारत जान लागेको हो ।
यस्तो छ नेपाली पक्षको मोडालिटी
नेपाली पक्षले भारतीय अधिकारी समक्ष नोट सटहीको मोडालिटी पनि पेश गर्ने भएको छ । नेपालस्थित भारतीय दुतावासले नक्कली भारतीय नोट साटिन सक्ने, स्रोत नखुलेको सम्पत्ति पनि बैध बनाउने प्रयास हुन सक्ने जस्ता चिन्ता जनाएपछि नेपाल राष्ट्र बैंकले भारतीय चिन्ता सम्बोधन गर्नको लागि मोडालिटी बनाएको थियो ।
नेपाल राष्ट्र बैंकले बनाएको मोडालिटी अनुसार एक जना व्यक्तिसँग भएको हजार र ५ सय दरका २५ हजार भारुसम्म साटिनेछ । भारु साट्ने व्यक्तिको बैंक खाता अनिवार्य गरिएको छ ।
‘बैंक खाता भएका व्यक्तिले आफ्नो खातामा नै र नभएका व्यक्तिले पहिला खाता खोलेर भारु बैंकमा भारु जम्मा पार्नुपर्नेछ, यसरी भारु जम्मा भएपछि सम्बन्धित बैंकहरुले सो रकम नेपाल राष्ट्र बैंकमा पठाउने छन्, त्यस्तो रकम जम्मा गरेर राष्ट्र बैंकले रिजर्ब बैंक अफ इन्डिया (भारतीय केन्द्रीय बैंक) मा पठाउछ,’ राष्ट्र बैंकले तयार पारेको मोडालिटी बारे जानकारी दिदै डेपुटी गभर्नर शिवाकोटीले क्लिकमाण्डूसँग भने ।
भारु साटिने अवस्था भएमा ‘कलेक्सन बेसिस’मा साट्ने शिवाकोटीले जानकारी दिए । अर्थात प्रतिबन्धित हजार र ५ सय दरका नोट हुने नेपालीले पहिला सो नोट आफ्नो खाता भएको बैंक वित्तीय संस्थामा जम्मा गर्नुपर्नेछ । अहिले बैंक खाता नहुने नेपालीले नजिकको बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ ।
यसरी खाता खोलिसकेपछि वा पहिला नै बैंक खाता भएका व्यक्तिले आफूसँग भएको हजार र ५ सय दरको नोट बैंकमा जम्मा गर्नुपर्ने छ । यसरी भारु जम्मा गर्ने व्यक्तिले तत्काल नेपाली रुपैयाँ पाउने छैन ।
खातावालाबाट भारु प्राप्त भएपछि बैंक वित्तीय संस्थाहरुले आफ्नो केन्द्रीय कार्यालय मार्फत त्यस्तो रकम नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्नेछ । बैंक वित्तीय संस्थाहरुबाट प्राप्त भएको रकम नेपाल राष्ट्र बैंकले रिजर्ब बैंक अफ इन्डियालाई बुझाउने छ । भारतीय केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंकबाट प्राप्त भएका नोट सक्कली भएको प्रमाणित भएपछि त्यसको भुक्तानी राष्ट्र बैंकलाई दिनेछ ।
भारतीय केन्द्रीय बैंकबाट भुक्तानी प्राप्त भएपछि नेपाल राष्ट्र बैंकले सो रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरिदिनेछ । राष्ट्र बैंकबाट रकम प्राप्त भएपछि बैंक तथा वित्तीय संस्थाले रकम जम्मा पार्ने ब्यक्तिको खातामा भारु सटहि दर अनुसारको नेपाली रुपैयाँ जम्मा गरिदिने छन् ।
राष्ट्र बैंकले तयार पारेको यो मोडालिटीमा भारतीय पक्षसँग छलफल हुन बाँकी छ । यसैकारण यही मोडालिटी अनुसार भारु साट्न सकिन्छ कि अर्काे मोडालिटी आउछ भन्ने अझै तय भएको छैन । र, भारतीय पक्षले छलफलको लागि मात्रै बोलाएकोले अहिले नै भारु साटिने ग्यारेन्टी भने छैन । साटिएको अवस्थामा एक जना व्यक्तिको २५ हजार भारुसम्मको साटिने छ भने आफूले जम्मा गरेको भारु नोट नक्कली भए त्यसको जिम्मा सम्बन्धित व्यक्तिले नै लिनुपर्नेछ ।
SHARE YOUR THOUGHTS