भद्रपुर । इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बनेको छ झापाको धरमपुर मार्ग ।
महेन्द्र राजमार्गबाट दक्षिण धरमपुर, तोपगाछी र पाँचगाछी हुँदै भारतको दिगल बैंक र फुलबरिया बजारसँग जोडिने यो बाटो केही महिना अघि साँगुरो, जीर्ण र कमजोर अवस्थामा थियो ।
स्थानीय विकास अधिकारीको हैसियतमा यहाँको नेतृत्व सम्भाल्न आइपुगेका खेमराज ओझाले विकासमा पछि परेको धरमपुरको यो अवस्था देखेर यहाँको स्तरोन्नति एवम् प्रगतिमा विशेष ध्यान दिन दिएका कारण यो बाटो अहिले फराकिलो र कालोपत्रे हुन लागेको छ ।
जिविसले सो बाटो भ्याटसहित १० करोड ५८ लाख ७१ हजार रुपैयाँको लागमा निर्माण गर्न कान्छाराम जेभी निर्माण कम्पनीलाई दिएकामा अगामी पुस मसान्तभित्रमा निर्माण गर्ने गरीे द्रुत गतिमा काम भइरहेको छ ।
लगभग १४ किमी लम्बाइ र ६ दशमलव ७५ मिटर चौडाइको सो मार्गको निर्माणले धरमपुर, तोपगाछी र पाँचगाछीका बासिन्दा निकै उत्साहित बनेका छन् ।
झापाको केचनादेखि चारआलीसम्म निर्माण हुने भनिएको ३९ किमी बाटो ४१ वर्ष पार गरिसक्दा पनि निर्माण नहुँदा यात्रा गर्ने मनिस तथा भद्रपुर, महेशपुर, पृथ्वीनगर, पाठामारी, बालुबाडी, बनियानी, केचना, घेराबारीका जनता वर्षात्मा हिलो, सुख्खा मौसममा धुलो, बसमा यात्रा गर्दा हुने कठिनाइ र जोखिमको भयबाट मुक्त हुन नसकिरहेको अवस्थामा धरमपुरका जनताले आफूलाई भाग्यमानी ठानिरहेका छन् ।
त्यो मार्गमा पर्ने कमल खोलाको पुल एक वर्ष पहिले निर्माण भई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेकामा धरमपुरको डुडामारीमा जिविसको ५८ लाख रुपैयाँको लागतमा निर्माण भएको अर्को एक पुल निर्माण भई तीन महिना पहिले स्थानीय विकास अधिकारी ओझाले उद्घाटन गरेका थिए ।
निर्माण कार्य सुरु गरेर समयमै सम्पन्न हुने परिपाटीले अब यो क्षेत्र विकासमा अघि बढ्ने र यसैको माध्यमबाट यस क्षेत्रमा शिक्षा, स्वास्थ्यसँगसँगै आर्थिक, सामाजिक र राजनीतिक विकास हुने सम्भावना बढ्दै गएको धरमपुर निवासी समाजसेवी अग्नि सापकोटाले बताए ।
धरमपुरमा तीनदिन लाग्ने मङ्गलबारे, शुक्रबारे र पाडावाडी बजारलाई व्यवस्थित गर्न जिविसले डिपिआर तयार गरी भवन तथा सहरी विकास मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ ।
सो सम्बन्धमा स्थानीय विकास अधिकारी ओझाले राजनीतिक, आर्थिक, सामाजिक कारणले विकासमा पछि परेको यो ठाउँको विकास गर्न आफूले गरिरहेको प्रयास र सहयोगले आनन्द लागेको प्रतिक्रिया दिए ।
SHARE YOUR THOUGHTS