अपार्टमेन्टको बीमा दाबी अझै भुक्तानी भएन, चार अर्ब १० करोड भुक्तानी हुन बाँकी « Eglish Khabarhub

अपार्टमेन्टको बीमा दाबी अझै भुक्तानी भएन, चार अर्ब १० करोड भुक्तानी हुन बाँकी



काठमाडौँ । भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ ।

प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बीमितले दाबी भुक्तानी पाएका छैनन् । काठमाडौँ उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पुर्याएको थियो ।

बीमा समितिका अनुसार निर्जीवनतर्फ रु १६ अर्ब ८२ करोडको दाबी परेकामा रु १२ अर्ब ७२ करोड भुक्तानी भएको छ । यो सबै व्यक्तिगत दाबी हो । बहुतले (अपार्टमेन्ट) घरमा बस्दै आएका व्यक्तिले भने पाएका छैनन् । अझै रु चार अर्ब १० करोड भुक्तानी हुन बाँकी छ ।

बीमा समितिले विपत्तिमा परेका अपार्टमेन्टको बीमा भुक्तानी दिन नसकिएको स्वीकार गरेको छ । बीमा कम्पनी र बिमितबीचको सहमति महत्वपूर्ण भएको बीमा समितिका पूर्व अध्यक्ष प्रा डा फत्तबहादुर केसीले बताए।

बसुन्धराको पार्क भ्यू होराइजन, डिल्ली बजारको अपार्टमेन्ट, सानेपाको स्टाटस इन भिलेज, झम्सिखेलको अपार्टमेन्ट, सिटी भ्यू अपार्टमेन्ट, ओरियन्टललगायतका अपार्टमेन्टमा भुइँचालोले क्षति पुर्याएको छ ।

तीमध्ये केही मर्मत भइसकेका छन् भने केहीले पुनःसञ्चालनको अनुमति लिएका छन् । एउटै अपार्टमेन्टले फरक फरक बीमा कम्पनीसँग बीमा गरेको पाइएको र बीमा कम्पनीअनुसार फरक नीति हुने भएकाले पनि भुक्तानीमा समस्या देखिएको बुझिएको छ ।

बीमित भुक्तानी पाउन नसक्नुमा कम्पनी र बीमितबीचमा केही अप्ठ्यारा रहेको बताउँछन पूर्व अध्यक्ष केसी । उनीहरुबीच सहमति भएपछि सबै समस्याको हल हुन्छ । निर्जीवनतर्फको व्यक्तिगत सबै दाबीको भुक्तानी भइसकेको तर अपार्टमेन्टका केही जटिलता भएकाले बाँकी रहेको बुझिएको छ ।

विशालनगर पार्क भ्यूको शिखर इन्स्योरेन्सले बिमा गरेको थियो । भुइँचालोमा क्षति भएको उक्त अपार्टमेन्टको बीमा दाबी शिखरले सबै भुक्तानी गरिसकेको जनाएको छ । भुइँचालोबाट भएको क्षतिको भुक्तानीको युनाइटेड इन्स्योरेन्स कम्पनीबाट भने चुक्ता हुन बाँकी भएको जनाइएको छ । निर्जीवन बीमा गर्ने १७ मध्ये अधिकांशले कुनै न कुनै अपार्टमेन्टको  बिमा गरेका छन् ।

सरकारले भुइँचालोपछि रातो र हरियो स्टिकर टाँस्दाका बखत ध्यान नपुग्दा पनि समस्या भएको हो । अपार्टमेन्टको बीमा गर्दा एक भाग एक कम्पनी र अर्को भाग अर्को कम्पनीसँग गर्ने गरेकाले पनि त्यसमा समस्या आएको हो । त्यसलाई सुल्झाउन आवश्यक छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंका अनुसार बीमा समितिले विपत्तिको समयमा भएका क्षतिका भुक्तानीलाई प्राथमिकता दिँदै आएको छ । सोहीअनुसार अधिकांश बीमितले भुक्तानी पाइसकेका छन् ।  निर्जीवन बीमालाई ग्रामीण जनता र भौतिक संरचनासम्म पुर्याउनुपर्ने उनको धारणा छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भुइँचालोबाट क्षति भएका सबै दाबीको भुक्तानी भइसकेको जानकारी दिए । उक्त कम्पनीमा ४६ वटा दाबी परेको थियो । दाबीको रु दुई करोड ४३ लाख भुक्तानी भइसकेको छ ।

बीमा क्षेत्र यतिका धेरै हुँदा पनि बिमक बढ्न नसक्नुका कारणबारे झा भन्छन, ‘बीमाका विषयमा आमजनतालाई बुझाउन सकिएन ।’

हाल नौवटा जीवन बीमा कम्पनी र १७ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । मुलुकको कुल जीवन बीमाको सात प्रतिशत र निर्जीवन बीमाको विविधीकरण हुन सकेको छैन ।

भुइँचालोसँग सम्बन्धित ३८० वटा बीमा दाबी परेको थियो । ती सबैले भुक्तानी पाइसकेका  छन् । जीवन बीमा गर्नेको सङ्ख्या नै न्यून हुनु अहिलेको समस्या हो । बीमासम्बन्धी जनचेतना विस्तार गर्न नसकिएका कारण पनि यस क्षेत्रको विस्तार हुन सकेको छैन ।

सनराइज टावर धोवीघाट अपार्टमेन्टमा बस्न रुचाउने नेपालको पहिलो हेयर स्टाइलिस्ट नीलडेबिट कटुवाल भुइँचालोपछि आफ्नै घर बनाएर सरे । उनी भन्छन्, ‘त्यो विपद्को समयमा मलाई धेरै त्रास भयो, त्यसपछि मेरो छोरा अपार्टमेन्टमा जान मानेन ।’

भुइँचालोपछि अपार्टमेन्टको प्रयोगमा कमी आएको देखिएको छ । रासस

Publish on: