बैतडीमा हात्तीपाइले विरुद्धको कार्यक्रम, दुईलाख ४० हजारलाई औषधि खुवाइने « Eglish Khabarhub

बैतडीमा हात्तीपाइले विरुद्धको कार्यक्रम, दुईलाख ४० हजारलाई औषधि खुवाइने



बैतडी । बैतडीमा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ ।

हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिए ।

जोशीका अनुसार गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीबाहेकका सबैलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइनेछ ।

जिल्लामा गएको पाँच वर्षयता हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालबाट सन् २०२० सम्ममा हात्तीपाइले उन्मूलन गर्ने सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन  भइरहेको सूचना अधिकृत जोशीले जानकारी दिए ।

हात्तीपाइले विरुद्धको औषधि लगातार छ वर्षसम्म वर्षमा एकपटक सेवन गर्नुपर्ने हुन्छ । यो वर्ष बैतडीमा झन्डै दुई लाख ४० हजार जनसङ्ख्यालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको छ ।

हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रमका लागि जिल्लाभरि ४ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी, ८ सय ३१ भन्दा बढी महिला स्वास्थ्य स्वयम्सेविका र ६ सय ४९ स्वयंमसेवक परिचालन गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले हात्तीपाइले उन्मूलन गर्ने नेपाल सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिन लागेको जानकारी दिँदै कार्यक्रममा सहयोग गर्न पनि सबैलाई आग्रह गरे । रासस

Publish on: