काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले सम्पूर्ण युवालाई जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी भई मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढ्न आह्वान गरेका छन् ।
नेकपामाओवादी केन्द्रको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग काठमाडौंको दोस्रो जिल्ला सम्मेलनलाई यहाँ आज उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारासबै युवालाई जलविद्युत् क्षेत्रमा लगाउने लक्ष्यका साथ सरकारले अगाडि सारेको बताए ।
ऊर्जा मन्त्रालयले तिला कर्णाली जलविद्युत् आयोजनामा सम्पूर्ण कर्णालीवासीलाई एक÷एक लाखको सेयर दिने प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सोही योजना मुलुकभर नै अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।
राष्ट्र निर्माणको प्रमुख आधार जलविद्युत् नै उत्तम विकल्प भएको उल्लेख गर्दै नेपालका मेहनती, अनुशासित र कर्तव्यनिष्ट युवा शक्तिलाई विश्वासमा लिएर एकाध वर्षमा उच्च आर्थिक समृद्धि गर्ने सरकारको चाहना भएको मन्त्री शर्माले स्पष्ट पारे ।
वैदेशिक रोजगारीमा रहेका युवालाई समेत स्वदेशमा फर्काउने एउटा मात्रै विकल्पको रुपमा जलविद्युत् आयोजना र त्यसमा गरिने लगानी भएको स्पष्ट पार्दै उनले राजनीतिक दलको घेराभन्दा माथि उठेर सम्पूर्ण युवा शक्ति अगाडि आउने हो भने नेपालको समृद्धि धेरै टाढा नरहेकोमो जोड दिए । उनले ऊर्जा मन्त्रालय सोही लक्ष्यका साथ काम गरिरहेको बताउँदै क्षमताअनुसारको काम दिने र युवा शक्तिलाई मुलुक निर्माणको अभियानमा जोड्ने एउटा मात्रै विकल्प जलविद्युत् मात्रै भएको भन्दै बुढेसकालमा पेन्सन पाउने, आर्थिक रुपमा समृद्ध हुने आधार क्रमशः तयार भएको बताए ।
SHARE YOUR THOUGHTS