काठमाडौं । तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो ७३ लाख रुपैयाँको कारोबार गर्दै सम्पन्न भएको छ ।
एक्स्पोको पहिलो दिन ९ लाख १६ हजार रुपैयाँ, दोस्रो दिन १६ लाख १९ हजार रुपैयाँ, शनिबार २५ लाख ७१ हजार रुपैयाँ र मेलाको अन्तिम दिन आइतबार १९ लाख ६८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका महासचिब मिन बहादुर तामाङले जानकारी दिए ।
अपेक्षा गरेको जस्तै कारोबार भएको बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय मेला कारोबार सँगै प्रबद्र्धन गर्न पनि सफल भएको बताए ।
नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा एक्स्पो बिहिबारबाट सुरु भएको थियो ।
‘शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सम्पन्न भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको थियो ।
मेलामा भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरियालगायत मुलुकका पुष्प व्यवसायीहरु सहभागी थिए ।
मेला अबधीभर ६६ हजारभन्दा धेरै अबलोकन कर्ता र फूल पारखी मेला अबलोकनका लागि आएको फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानका कार्यक्रम संयोजक जेबि तामाङले बताए ।
SHARE YOUR THOUGHTS