पर्वतमा ७१ मेगावाट विद्युत् उत्पादन हुँदै, पाँचवटा जलविद्युत् आयोजना संचालनमा

पर्वतमा ७१ मेगावाट विद्युत् उत्पादन हुँदै, पाँचवटा जलविद्युत् आयोजना संचालनमा


पर्वत। ऊर्जा नदीका रूपमा परिचित मोदीखोलासहित पर्वतका अन्य नदीनालामा सम्पन्न भइसकेका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट ७१ मेगावाट विद्युत् उत्पादन हुँदैछ ।

जिल्लाका मोदीखोला र पातीखोलामा गरी पाँचवटा जलविद्युत् आयोजनाबाट कुल ७१ दशमलव ३ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो । आगामी दुई वर्षभित्र सक्ने गरी निर्माणाधीन र निर्माण सम्पन्न साना ठूला पाँच आयोजनाले यो क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छन् । पर्वतमा हाल कुल २५ दशमलव पाँच मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा छन् ।

जिल्लाका थोरै पानीमा धेरै उत्पादन हुने सम्भाव्यता बोकेका मोदीखोलालगायत नदीनालामा लगानी गर्न व्यवसायी आकर्षित भएका छन् । मनाङ ट्रेड लिङ्क र साउथ एसियन इन्फ्रास्ट्रक्चरले जिल्लाको परादीमा निर्माण गरिरहेको आयोजना सम्पन्न गरेपछि २० मेगावाट विद्युत् उत्पादन हुनेछ ।

तीन अर्ब ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको मोदीखोला आयोजनाको अहिले ९० प्रतिशत काम पूरा भइसकेको र चालु आवभित्रै उत्पादन दिने लक्ष्य राखिएको आयोजना प्रमुख पवनकुमार यादवले बताए । आयोजनाको हालसम्म बाँध, टनेल, पावरहाउस र इन्टेकलगायतको काम पूरा भइसकेको छ । चार हजार दुई सय मिटर सुरुङ मार्ग खनी निर्माण भइरहेको यो आयोजना जिल्लामा हालसम्मकै ठूलो मानिन्छ । मोदी खोलामै १५ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजना निर्माणाधीन छ ।

जिल्लाको मोदी गाउँपालिकास्थित भुकदेउराली र देउपुरमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाबाट १५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ । त्यस्तै,युनाइटेड मोदी हाइड्रोपावरले निर्माण गर्ने तल्लो मोदीखोला–२ जलविद्युत् आयोजनाबाट १०दशमलव पाँच मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ ।

हाल मोदीखोला जलविद्युत् आयोजनाले १४दशमलव आठ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ भने तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाले १० मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ । उता पातीखोलामा रहेको पातीखोला जलविद्युत् आयोजनाले एक मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।