सोलुखुम्बु। सोलुखुम्बुका छजना किसानले बाख्रा पाल्नका लागि जिल्लामा सञ्चालित हिमाली आयोजनामार्फत ६१ लाख तीन हजार तीन सय ९५ रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।
आयोजनाका अनुसार लोखिम–४ की प्रमिला राईले ११ लाख ५३ हजार एक सय ७७ रुपैयाँ, दूधकुण्ड नगरपालिका–८ का छोङवा लामाले १५ लाख ५२ हजार सात सय २३ रुपैयाँ, दूधकुण्ड नगरपालिका–५ का बिर्खे मगरले आठ लाख ८१ हजार ४९ रुपैयाँ, भकाञ्जे–९ का प्रभु बस्नेतले १० लाख ६२ हजार पाँच सय ३२ रुपैयाँ, भकाञ्जे–४ का आङङवाङ शेर्पाले नौ लाख ८० हजार पाँच सय ३२ रुपैयाँ र वाकु–१ का डम्बर राईले चार लाख ७३ हजार तीन सय ८२ रुपैयाँ अनुदानस्वरुप प्राप्त गरेका हुन् ।
आयोजनाले माग गरेबमोजिमको प्रस्ताव पेस गरेर उनीहरुले अनुदान प्राप्त गरेको र हाल व्यावसायिक रुपमा बाख्रापालन गरिरहेको आयोजनाका सामाजिक परिचालक संयोजक दावातेञ्जी लामाले जानकारी दिए ।
बाख्रापालन सुरु गरेकी लोखिक–४ की प्रमिला राईले अनुदानसँगै बाख्रापालनसम्बन्धी तालिमसमेत पाएकाले सहज भएको भन्दै अहिले बाख्रापालनबाट रु दुई लाखभन्दा बढी फाइदा भइसकेको बताए।
भकाञ्जेका प्रभु बस्नेतले पनि खेती गर्ने मानिस नहुँदा खाली रहेको जमिन उपयोग गरी बाख्रापालन व्यवसाय राम्रो भइरहेको बताए ।
अहिले गाउँमै खसिको मासु प्रतिकेजी रु ६ सयले बिक्री भइरहेको हुँदा बजारको समस्या नभएको र मागअनुसार खसीबोका उत्पादन गर्न धौ धौ परिरहेको जानकारी दिए । तीनजनालाई रोजगारसमेत दिएको बताउने बस्नेतले अनुदानबाट व्यवसाय सञ्चालनमा निकै सहज भएको उल्लेख गरे।
SHARE YOUR THOUGHTS