शंकास्पद मिस्डकलमा फोन नगर्न मोबाइल सेवा प्रदायकहरुको आग्रह « Eglish Khabarhub

शंकास्पद मिस्डकलमा फोन नगर्न मोबाइल सेवा प्रदायकहरुको आग्रह



काठमाडौं। नेपालीहरुको विभिन्न मोबाइल नम्बरमा केहि दिनदेखि शंकास्पद नम्वरबाट मिसकल आएको भन्दै नेपाल टेलिकम तथा एनसेलले त्यस्ता फोन नउठाउन आग्रह गरेका छन् ।

विगत केहि दिनदेखि अफ्रिकी मुलुकका केहि देशहरुबाट मिस्डकल आउने गरेको र त्यस्ता नम्बरमा पुन फोन गर्दा रकम काटिने गरेको गुनासो सेवाग्राहीले गरिरहेको बेला दुबै मोबाइल सेवा प्रदायक कम्पनीहरुले आउने शंकास्पद विदेशी नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेका हुन् ।

टेलिकमले आज आफ्नो फेसबुक पेजमा सूचना दिँदै विदेशी नम्बरबाट आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको हो । त्यसैगरी एनसेलले पनि केहि दिनअघि आफ्नो फेसबुक पेजमा सूचना दिँदै विदेशी नम्बरबाट आउने शंकास्पद कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ ।

टेलिकमका जिएसएम प्रिपेड तथा पोष्टपेड नम्वरमा ट्युनिसियाको कोडबाट मिसकल आएको पाइएको छ । टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद विदेशी नम्बरका कलहरुलाई विदेशी क्यारियरमार्फत ब्लक गरिसकेको जानकारी दिएको छ । एनसेलले शंकास्पद विदेशी नम्बरका कलहरुलाई ब्लक गराएको वा नगराएको बारेमा जानकारी नदिएपनि कल ब्याक गर्दा उच्च शुल्क लाग्ने‍मा सेवाग्राहीलाइ सचेत गराएको छ ।

टेलिकमले भने त्यस्ता कलहरु आए नउठाउन तथा मिस्डकल नम्बरमा कलव्याक नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ।

 

Publish on: