सल्यान । जिल्लामा निर्माण गरिएका डेढ दर्जन बढी सिँचाइ कुलोबाट तीन सय १९ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।
लामो समयदेखि पानीको स्रोत भएर पनि सिँचाइ सुविधाबाट वञ्चित जिल्लाका सात गाविसमा सिँचाइ कुलो निर्माण गरिएपछि बाह्रैमहिना सिँचाइ सेवा उपलब्ध भएको हो ।
जिल्लाका लक्ष्मीपुर, कालीमाटी रामपुर, कालीमाटी कालचे, काप्रेचौर (हाल कालीमाटी गाउँपालिका) कुपिन्डेदह, माझकाँडा (हाल कुपिन्डे वनगाड नगरपालिका र काभ्रा गाविसमा निर्माण गरिएका सिँचाइ कुलोबाट करिब सात सय ६ घरपरिवारका करिब पाँच हजार जनसङ्ख्या लाभान्वित भएका छन् ।
बिएम जेड डब्लु एचएचको एक करोड ४० लाख रुपैयाँ र थप ४२ लाख रुपैयाँको लागतमा सिँचाइ कुलो निर्माण गरिएको आर आरएन नामक संस्थाका कार्यक्रम संयोजक रत्न केसीले जानकारी दिए । उनका अनुसार कालीमाटी काल्चेमा– चार, कालीमाटी रामपुरमा सात, काप्रेचौरमा तीन, काभ्रामा दुई, माझकाँडामा दुई, कुपिन्डेदहमा दुई र लक्ष्मीपुरमा दुई गरी २२ वटा सिँचाइ कुलो निर्माण गरिएको छ ।
पानीको स्रोत हुँदा पनि वर्षौंदेखि सिँचाइ सुविधा उपलब्ध नभएको स्थानमा जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा सिँचाइ कुलो निर्माण गरिएको केसीले जानकारी दिए।
‘पानीको स्रोत छ तर पनि कुलो निर्माण नभएपछि सिँचाइ सेवा बाह्रैमहिना पु¥याउन सकिएको थिएन कुलो निर्माण भएपछि अब सिँचाइको समस्या झेल्नुपर्ने छैन ।’ कार्यक्रम संयोजक केसीले भने।
आफूहरुले सिँचाइ कुलो निर्माणका लागि जिल्ला विकास समितिलगायतका कार्यालयमा वर्षौं धाएर पनि कसैले सहयोग नगरेको कालीमाटी रामपुरका कुलप्रसाद भण्डारीले बताए।
‘सिँचाइ कुलोको समस्या भएको देख्ने धेरै भए तर जति भने पनि उनीहरुले हाम्रा कुरा कहिले नि सुनेन अहिले आर आरएनले कुलो निर्माण गरेपछि हामी खुसी भएका छौ,’ कृषक भण्डारीले भने।
सिँचाइका लागि कुलो मात्र नभएर पाइप तथा लिफ्ट प्रणालीबाट सिँचाइ उपलब्ध गराउने प्रयास गरेको आर आरएनका ओभरसियर कीर्तिराज बुढाथोकीले जानकारी दिए।
‘निगाल्चुलामा सिँचाइको लागि पानीको स्रोत बस्ती भन्दा तल छ त्यसलाई लिफ्ट प्रणालीबाट माथि तानेर बस्तीमा खानेपानी तथा सिँचाइको लागि सर्वेक्षण भइरहेको छ,’ बुढाथोकीले भने।
SHARE YOUR THOUGHTS