आयो ‘अनलाईन ट्रेडिङ’को खाका, ३ महिना भित्र सञ्चालनमा आउने « Eglish Khabarhub

आयो ‘अनलाईन ट्रेडिङ’को खाका, ३ महिना भित्र सञ्चालनमा आउने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को लागि स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रा.लि.ले मिति २०७४/०१/०६ गते बुधबार प्रस्तावित प्रणालीको खाका प्रस्तुत गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममा वाइककोको तर्फबाट प्रणाली विकास व्यवस्थापक प्रदीप पद्मपाणीसहितको प्राविधिक टोलीले प्रस्तावित कारोबार प्रणालीका विविध पक्षमा नेप्सेका पदाधिकारी, उच्च व्यववस्थापन तथा कर्मचारीहरु समक्ष प्रस्तुती गरेको हो ।

प्रस्तुतीका क्रममा टोलीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लगायत प्रस्तावित प्रणालीमा रहेका विशेषताहरु माथि प्रकाश पारेको थियो । स्वचालित अनलाईन कारोबार प्रणाली निर्माण, स्थापना तथा सञ्चालनका विभिन्न चरणहरुमा गरिने कार्य हार्डवयर तथा सफ्टवेयरका बारेमा पनि टोलीले नेप्सेलाई जानकारी गराएको थियो ।

प्रस्तुतीकरण अघि नेप्सेका अध्यक्ष श्री रामजी रेग्मीले भारतबाट आएका तथा वाइकोका स्थानीय प्राविधिकहरु लाई स्वागत गर्दै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली स्थापना गर्ने झण्डै दुई वर्षभन्दा अघि देखिको प्रयासले मूर्त रुप लिन लागेकोमा खुशी व्यक्त गरे । ‘यो प्रणाली सञ्चालनमा आएपछि नेपालको पुँजी बजार अझै गहिरो र व्यापक हुने विश्वास मैले लिएको छु,’ उनले भने ।

कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत श्री सीताराम थपलियाले मुलुकको आर्थिक उन्नतिका लागि पुँजी बजारको विकास अपरिहार्य रहेको औल्याउँदै बजारलाई आधुनिकीकरण गर्ने प्रक्रियामा नेप्से अगाडि बढेको बताए ।

‘पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मुलुकको पुँजी बजारमा कोशेढुंगा साबित हुने विश्वास मैले लिएको छु,’ उनले भने ।

Publish on: