बेगखोलामा बाढी अाउँदा बेनी–जोमसोम सडक अवरुद्ध « Eglish Khabarhub

बेगखोलामा बाढी अाउँदा बेनी–जोमसोम सडक अवरुद्ध



मुस्ताङ। बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा सवारी आवागमन ठप्प बनेको हो ।

बुधबार साँझदेखि नै मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न गाउँबाट सदरमुकाम आउने र देशका विभिन्न भागबाट ती क्षेत्रमा जाने यात्रु मर्कामा परेका छन् । घन्टाँै कुर्दासमेत पानी सतह नघटेपछि तिब्ल्याङ र बेनीमै फर्कन बाध्य भएको तिब्ल्याङका स्थानीयवासी प्रेम पुर्जाले जानकारी दिए।

बेगखोलाको ठाडोखोलामा गत वर्षको भदौमा आएको भीषण बाढीले त्यहाँका १२ घर बगाउनुका साथै बेलिब्रिज पनि बगाएको थियो । माथिल्लो क्षेत्रमा वर्षा हुनेबित्तिकै बेगखोलामा बाढी आउने गरेको छ । बेनी–जोमसोम हुँदै मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप उच्च छ । पोखरा, बेनी र काठमाडाँैबाट सिधा जोमसोम र मुक्तिनाथका लागि जिप र माइक्रोबस छुट्न थालेपछि सवारीमा यात्रा गर्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

चैत, वैशाख र जेठ मुस्ताङ भ्रमणको याम मानिन्छ । गत वर्ष बाढीले ल्याएका ठूल्ठूला ढुङ्गाले कालीगण्डकीको सतह माथि उठेको र वर्षा हुने बित्तिकै ठाडाखोलामा बाढी सडक अवरुद्ध हुने गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिब सुमन श्रेष्ठले जानकारी दिए।

‘सम्बन्धित निकायले यसको दीर्घकालीन पहल गरेको देखिएको छैन, बाढी कम भएपछि अस्थायी रुट बनाउने अनि सवारी सुचारु गर्ने गरेका छौँ,’ उनले भने।

Publish on: