दुई करोड रुपैयाँ लगानीमा वनमारा फाँडेर अलैँची खेती « Eglish Khabarhub

दुई करोड रुपैयाँ लगानीमा वनमारा फाँडेर अलैँची खेती



पर्वत । दक्षिण पर्वतको भोक्सिङमा वनमारा फाँडेर जङ्गलभरि अलैँचीखेती विस्तार गरिएको छ ।

अलैँचीखेतीका लागि उपयुक्त हावापानी,मनग्य आम्दानी गर्न सकिने तथा एकपटक रोपेपछि दुई दशकसम्म उत्पादन लिन सकिने भएकाले यहाँका बासिन्दाले वनमारा फाँडेर अलैँचीखेती सुरु गरेका हुन् ।

स्थानीयवासीले दुई करोड रुपैयाँको लागतमा दुई वर्षदेखि अलैँचीखेती गर्न थालेका हुन् । खेर गएको जमिनको उपयोग गरी आय आर्जन गर्ने उद्देश्यले कृषकले गाउँमै सामूहिक फार्म खोलेर व्यावसायिक खेतीको सुरुवात गरेका हुन् । उनीहरुले भोक्सिङ बहुउद्देश्यीय कृषि तथा बाख्रापालन समूह स्थापना गरी एक हजार ५०० रोपनी क्षेत्रफलमा एक लाख अलैँचीका बिरुवा रोपेका छन् । अहिले अलैँचीले फल दिन सुरु गरेको छ ।

बजारमा अहिले अलैँचीको मूल्य प्रतिमन ५० हजार रुपैयाँ रहेको छ । प्रशस्त आम्दानी गर्न सकिने भएपछि यहाँका बासिन्दा जङ्गलमा लगानी गर्न थालेका छन् । सुरुमा स्थानीय ३० जना कृषकले खेती सुरु गरेका हुन् । क्षेत्रफल बढाएर दुई हजार रोपनी पु¥याउने उनीहरुको लक्ष्य छ ।

लामो समय बेलायती र भारतीय सेनामा कार्य गरेर सेवानिवृत भएर फर्किएकाहरु अलैँची खेतीमा लागेका समुहका अध्यक्ष विरजङ्ग गुरुङले बताए। उनी लमजुङ पश्गाउँबाट अलैँची खेती गर्न भोक्सिङ आएका थिए । यस वर्ष उनले दुई क्विन्टल अलैँची उत्पादन गरेका छन् ।

गाउँ छाडेर सहर जाने लहर चलेका कारण खाली भएको पाखो र बाँझो जग्गाको उपयोग गरेर फार्म सञ्चालन गरिएको समूहका सदस्य नारायण गुरुङ बताउँछन् । उनीहरुले प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लगानी गरेर अलैँची खेती सुरु गरेका हुन् । ‘अहिलेसम्म दुई करोड रुपैयाँसम्म लगानी गरिसकेका छौँ,’ गुरुङले भने ।

यस वर्ष उनीहरुले एक लाख बिरुवा रोप्ने गरी जग्गाको तयारी गरेका छन् । नर्सरीमा बिरुवा समेत उत्पादन गरिएको छ । कृषकको उत्साह देखेर आर्थिक तथा प्राविधिक सहयोग गरेको जिल्ला कृषि कार्यालयका प्रमुख वासुदेव रेग्मीले बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सुरु भएको जिल्लामा उक्त क्षेत्रलाई अलैँचीको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

Publish on: