मयूरधापमा नयाँ औद्योगिक क्षेत्र बन्ने, डिपीआर तयार गर्न सुरु « Eglish Khabarhub

मयूरधापमा नयाँ औद्योगिक क्षेत्र बन्ने, डिपीआर तयार गर्न सुरु



हेटौँडा। औद्योगिक नगर भनेर चिनिने हेटौँडा उपमहानगरपालिकामा अर्को औद्योगिक क्षेत्र थपिने तयारी भइरहेको छ । हेटौँडा मयूरधापमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि एकसय ३५ हेक्टर क्षेत्रफलमा सरकारले डिपीआर तयार गर्न सुरु गरेको हो ।

हेटौँडा बजारबाट सात किमी दक्षिणमा रहेको साबिक चुरियामाई र पदमपोखरी गाविसको बीचमा पर्ने मयूरधाप क्षेत्रको करिब तीनसय बिगाहा सार्वजनिक जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न प्राविधिक टोलीले सर्भे सुरु गरेको हो । औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गतबर्षको वैशाखमा प्राप्त गरेको जनाइएको छ ।

जार्सा कन्सल्ट्यान्टका प्राविधिक सुदीप कार्कीका अनुसार सर्भेका लागि करिब एक साता लाग्नेछ । तीन दिनदेखि टोलीले हेटौँडाको मयूरधापमा जग्गाको नापजाँचको काम गरिरहेको कार्कीले बताए । जग्गाको स्वामित्व, पानी, विद्युत्, टेलिफोन, सडक र औद्योगिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोली खटाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताए।

उनका अनुसार सरकारको यो निर्णयले तीन दशकपछि औद्योगिक क्षेत्रमा परिवर्तनको सुरुवात भएको छ । गत पुसमा सूचना प्रकाशन गरी हेटौँडाको नयाँ औद्योगिक क्षेत्रमा डिपिआर तयार गर्ने बोलपत्र आह्वान गरेको अध्यक्ष बस्नेतले जानकारी दिए। उनका अनुसार हालको औद्योगिक क्षेत्रमा उद्योगका लागि जग्गाको माग पूरा गर्न नसकेको अवस्थामा नयाँ औद्योगिक क्षेत्र बन्न लागेको हो ।

Publish on: