काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको नव निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्य सम्मिलित प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज शितल निवासमा भेटवार्ता गरेको छ ।
सो अवसरमा राष्ट्रपति भण्डारीले महासंघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुमा बधाई एवं शुभकामना दिईन् ।
राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकास एवं समृद्धिनै आफ्नो चाहना भएको र आफूले यसमा सदैव जोड दिंदै आएको विश्वास निजी क्षेत्रलाई गराईन् । साथै राष्ट्रपतिले हाम्रा विकासका प्रयासहरु तल्लो तहका जनताको आर्थिक जीवनस्तर सुधार गर्ने, स्थानीय तहमै रोजगारी सृजना गर्ने तर्फ केन्द्रित हुनुपर्ने भन्दै निजी क्षेत्रलाई आर्थिक विकासको अग्रपंक्तिमा रहेर काम गर्न शुभकामना समेत दिईन् ।
त्यसअघि महासंघका अध्यक्ष भवानी राणाले आर्थिक विकासका विषयहरुलाई महासंघको नयाँ टिमले जोड्तोड्का साथ अगाडि बढाउने विश्वास दिलाईन् । निजी क्षेत्रले सदैव राजनैतिक स्थायित्व एवं लगानीको वातावरणको अपेक्षा गरेको जानकारी गराउँदै अध्यक्ष राणाले देशमा लगानीको वातावरण एवं राजनैतिक स्थायित्व भएमा जनताले अपेक्षा गरेको आर्थिक समृद्धि हासिल हुने विश्वास निजी क्षेत्रमा रहेको बताईन् ।
भेटवार्तामा महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारका, महासंघका विशिष्ट सदस्य एवं पुर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु एवं महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठकोे उपस्थिति रहेको थियो ।
SHARE YOUR THOUGHTS