पोखरा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री गगन थापाले संविधान कार्यान्वयन गरी देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताएका छन् ।
नेपाली काँग्रेस कास्कीद्वारा पोखरा चिप्लेढुङ्गास्थित बिपी चोकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको दुई चरणकै निर्वाचन सम्पन्न गरी काँग्रेसले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे।
अरु दलले घुर्की लगाउँदै जिम्मेवारीबाट पन्छिन मिल्छ तर काँग्रेसले कोसँग घुर्की लगाउने भन्दै मन्त्री थापाले अहिलेको निर्वाचन राम्रो काम गर्ने दललाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने नेपाली जनताको एक महान अवसर भएको धारणा राखे ।
मन्त्री थापाले स्थानीय सरकार बलियो बनाएर विदेशिएका लाखौँ युवायुवतीलाई स्वदेशमै रोजगारीका अवसरमा सिर्जन गर्ने गरी काँग्रेसले विशेष कार्यक्रम ल्याउने उल्लेख गरे ।
पार्टीका केन्द्रीय नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक डा शेखर कोइरालाले काँग्रेसले स्थानीय तहलाई भ्रष्टाचारमुक्त, सुशासन, जवाफदेहिता र पारदर्शी बनाउन चाहेको बताए ।
उनले काँग्रेसबाट विजय प्राप्त गर्ने जनप्रतिनिधिले पाँच वर्षसम्म ती निकायलाई समृद्ध बनाउन सधैँ खबरदारी गर्ने दृढता व्यक्त गरे ।
नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष कोपिला रानाभाट र नेपाली काँग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले पोखराको समृद्धिमा सबैको ध्यानाकर्षण गराए ।
यसअघि पोखराको चिप्लेढुङ्गाबाट निस्केको एक ¥याली महेन्द्रपुल, पृथ्वीचोक, सिर्जनाचोक हुँदै पुन चिप्लेढुङ्गामा पुगेर कोणसभामा परिणत भएको थियो ।
SHARE YOUR THOUGHTS