सेयर आबेदनमा अब चाहेर पनि लाइन बस्न र चेक तथा नगद बुझाउन नपाइने « Eglish Khabarhub

सेयर आबेदनमा अब चाहेर पनि लाइन बस्न र चेक तथा नगद बुझाउन नपाइने




काठमाडौं । पब्लिक कम्पनीको साधारण सेयर (आइपिओ), हकप्रद, थप निस्कासन (एफपिओ) जस्ता सेयर खरिद गर्न चाहने ब्यक्ति वा संस्थाले अब चाहेर पनि सम्बन्धित कम्पनीको सेयर फाराम भर्दै घन्टौं लाइनमा बसेर चेक वा नगद बुझाउने चलन अब सकिने भएको छ ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि यो परम्परागत शैलीलाई पूरै विस्थापित गर्ने भएको हो ।

बोर्डले आगामी साउन १ गतेदेखि सार्वजनीक निष्काशनमा आस्वा (धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताको बैंक खातामा खरिद गर्न चाहेको रकम रोक्का गर्ने प्रणाली) प्रणाली अनिवार्य गरेको छ ।

बोर्डले विज्ञप्ति जारी गर्दै आस्वा प्रणालीको कार्यान्वयन स्थिति सुदृढ हुंदै गएको, पचहत्तरै जिल्लाबाट यो सेवा प्रदान भइरहेको र यस प्रणालीलाई अनिवार्य गर्न लगानीकर्ता, मर्चेन्ट वैंकर, बैंक तथा वित्तीय संस्थाहरु सहित सरोकारवाला पक्षहरुबाट समेत माग भएका कारण २०७४ साउन १ गतेदेखि आस्वा प्रणाली अनिवार्य गर्न लागेको जानकारी दिएको छ ।

२०७३ माघदेखि आश्वा प्रणाली ऐच्छिक रुपमा लागू हुँदै आएको छ । हाल यस प्रणाली अन्तर्गत सबै बाणिज्य बैंकहरु लगायत ५२ बैंक तथा बित्तीय संस्थाहरुले ७५ वटै जिल्लाबाट सेवा प्रदान गर्न थालिसकेका छन् ।

यस प्रणाली मार्फत हालसम्म ७ वटा संगठित संस्थाहरुको सार्वजनिक निष्काशन भैसकेको र ती निष्काशनहरुमा करिब ६४ प्रतिशत भन्दा बढी दरखास्त रकम आस्वा प्रणालीमार्फत प्राप्त भएको बोर्डले जनाएको छ ।

आस्बा प्रणालीबाट सेयर आवेदन दिंदा बित्तीय संस्थाहरुले बढिमा सय रुपैंयाँ शुल्क लिन पाउँनेछन् । तर, तीब्र प्रतिस्पर्धाका कारण अधिकांस बित्तीय संस्थाहरुले १० देखि २५ रुपैंयाँमा नै सेवा उपलब्ध गराउँदै आएका छन् ।

Publish on: