२९ मंसिर २०८२, आइतबार

राष्ट्रिय गौरबका आयोजनाको खर्च अबस्था कमजोर, ५४ अर्ब छुट्याइएकोमा ७ अर्बमात्र खर्च



काठमाडौं । सरकारले घोषण गरेको २१ वटा ठूला आयोजनाको कामलाई तीव्रता दिन राष्ट्रिय गौरवका आयोजना घोषणा ग¥यो । आयोजनाको काममा हुने प्रक्रियागत ढिलाई र अन्य अवरोध छिटो छिचोलेर काम अघि बढाउने योजनाका साथ ती आयोजना अघि बढाइएको भए पनि कार्य प्रगति कुनैको पनि सन्तोषजनक छैन । काम थालिएका अधिकांश आयोजना थलिएका छन् । कतिको त अझै पनि कार्यान्वयन मोडालिटी टुंगिएको छैन ।

चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाका लागि ५४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । अन्य क्षेत्रमा विनियोजित रकम खर्च नभए पनि राष्ट्रिय गौरवका आयोजनामा जसरी पनि खर्च गर्ने सरकारी तयारी छ ।

यद्यपि, आर्थिक वर्षको पहिलो ६ महिना सकिँदा ७ अर्ब रुपैयाँमात्रै खर्च भएको छ । ‘राष्ट्रिय गौरवका आयोजनामा भएको अहिलेसम्मको खर्चको अवस्थालाई हेर्दा सन्तोष मान्ने अवस्था छैन, कामलाई तीव्रता दिएर छिटो खर्च गर्नुपर्छ भनेर हामी लागेका छौं, यो वर्ष केही सफलता मिल्छ कि भन्ने अपेक्षा छ,’ अर्थसचिब डा. शान्तराज सुबेदीले भने ।

अधिकांशको अवस्था कमजोर
बुढीगण्डकी जलविद्युत् आयोजनालाई चालु आर्थिक वर्षको बजेटमार्फत ५ अर्ब ३३ करोड रुपैयाँ तथा पेट्रोलियम करवापत थप ५ अर्ब जोहो गरिदिने तयारी सरकारले गरेको छ । तर, यो आयोजनामा अहिलेसम्म ३ करोड रुपैयाँ पनि खर्च भएको छैन । केही दिनअघि सरकारले बुढीगण्डकी आयोजना विकास समिति खारेज गरेपछि यसको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

यद्यपि, आयोजना प्रभावितका लागि मुआब्जा वितरणको काम भने अघि बढिरहेको छ । बुढीगण्डकीभन्दा नाजुक अवस्था छ, पश्चिम सेती जलविद्युत् आयोजनाको । चिनियाँ कम्पनीले आयोजना अघि बढाउन नखोजिएको जस्तो देखिँदैछ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम केही अघि बढेको भए पनि अनेकन समस्यामा अल्झिएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था उस्तै छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कर्जा प्रभावकारी हुन अझै सकेको छैन ।