किसान लघुवित्तको नयाँ शाखा जुम्लामा स्थापना

किसान लघुवित्तको नयाँ शाखा जुम्लामा स्थापना


जुम्ला । किसान लघुवित्तले यूकेएडको सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगमा जुम्लाको नाराकोटमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक उपेन्द्र पौडेलले गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक पौडेलले सक्षम र किसान लघुवित्तको सो साझेदारीलाई सराहना गर्न जरुरी रहेको बताए । देशका विभिन्न कुनामा बसोबास गर्ने मानिसहरूलाई छिटो र सहज वित्तीय सेवाहरू प्रदान गर्नको लागि प्रविधिमा आधारित नवीनतम समाधानहरू अवलम्बन गरेकोमा सो साझेदारीको सराहना उनले गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्द खनालले ट्याब्लेट बैङ्किङको लागि एउटा प्रमुख बाधकको रूपमा रहेको सञ्चार संरचनाको अभाव भएको बताए । उनले  देशको समग्र विकासको लागि ग्रामीण जनसंख्यालाई सस्तो र सहज सेवाहरू प्रदान गर्नको लागि नेपाल दूरसञ्चार प्राधिकरण कटिबद्ध रहेको भन्दै दुर्गम क्षेत्रहरूको सञ्चारको मुद्दालाई सम्बोधन गर्नको लागि हामी निरन्तर रूपमा समाधानहरूको खोजीमा रहेको जानकारी दिए ।

सक्षमका टोली प्रमुख बलजित भोहराले किसान लघुवित्तले पहिलो दिनदेखि नै नयाँ उपाय र आविष्कारहरूलाई अवलम्बन गर्दै आएको र वित्तीय सेवा प्राप्त नगरेको जनसंख्यालाई नवीनतम प्रणालीहरूको माध्यमबाट वित्तीय सेवाप्रदान गर्नको लागि समर्पित रहेको बताए । सक्षमको सहायतामा किसान लघुवित्तले आफ्ना सेवाहरूलाई दिगोरूपमा देशका दुर्गम कुनाकुनासम्म विस्तार गर्न सक्षम भएकोमा गौरवान्वित भएको विचार व्यक्त गरे ।

उद्घाटन समारोहमा बोल्दै किसान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले भने, ‘यस शाखामार्फत हामीले ११०० नयाँ ग्राहक थप्ने र १००० भन्दा बढी लाभग्राहीहरूलाई अन्य वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य लिएका छौं । यस नाराकोट शाखामार्फत हामीले यस क्षेत्रका सेवा प्राप्त नगरेका जनसंख्यासम्म पुग्ने विश्वास लिएका छौं ।’

उनले शाखाले केन्द्रीय बैठकहरू ट्याब्लेट बैङ्किङको शुरुवात गरेर लघुवित्त सेवाहरू प्रदान गरिने परम्परागत तरिकामा आमूल परिवर्तन ल्याउने जानकारी पनि दिए ।