भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले पदभार ग्रहणसँगै काममा तिब्रता दिए

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले पदभार ग्रहणसँगै काममा तिब्रता दिए


भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको शुक्रबारस्थलगत निरीक्षण गरेका छन् ।

हनुमन्ते खोला सफाइ परियोजनाअन्तर्गत हनुमन्ते खोला किनारमा विस्तार भइरहेको ढलको पाइप सानो भएको जनगुनासो आएपछि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा उपप्रमुख सहित, नगरपालिकाका कर्मचारी र परियोजनाका अधिकारीको संयुक्त टोलीले ढलको स्थलगत निरीक्षण गरेको हो ।

स्थलगत निरीक्षणका क्रममा ढलका लागि प्रयोग गरिएको ह्युम पाइप १६ इन्चको मात्र भएकाले ढलको व्यवस्थापनमा समस्या आउन सक्नेमा नगरप्रमुखलगायत जनप्रतिनिधिले चासो राखेका थिए ।

त्यस्तै खोला किनारमा निर्माण गरिएको पर्खालले खोला साँगुरो भएको गुनासो समेत व्यक्त गरिएको थियो ।

परियोजना कार्यान्वयन विभागका इ किशोर पन्थीले वर्षात्को पानी र फोहर पानीका लागि छुट्टै व्यवस्था गर्नुपर्ने भएकाले पाइप सानो राखिएको जानकारी दिए ।

स्थलगत निरीक्षणका क्रममा पाइप सानो हुने देखिएको बताउँदै उनले वर्षात्को पानी र फोहर ढलको पानी व्यवस्थापनका लागि थप अध्ययनको आवश्यक महसुस भएको जानकारी दिए ।

स्थलगत निरीक्षणपछि नगर प्रमुख प्रजापतिले नगरका जनप्रतिनिधि, प्राविधिक टोली र अन्य सम्बन्धित निकायलाई आमन्त्रण गरी संयुक्त बैठक आयोजना गरेर फोहर ढल व्यवस्थापन र खोला सफा गरी नगरलाई स्वच्छ र सफा बनाउनेबारे छलफल गरिने बताए ।

यसअघि गत बुधबार नगर प्रमुख प्रजापतिले हनुमन्ते खोलामा विस्तार भइरहेको सो ढलको विषयमा परियोजनाका अधिकारीसँग छलफल गरेका थिए ।