राष्ट्र बैंकको कडाइपछि ६० प्रतिशतले घट्यो सवारीसाधनको कारोबार, २० अर्ब राजस्व गुम्यो « Eglish Khabarhub

राष्ट्र बैंकको कडाइपछि ६० प्रतिशतले घट्यो सवारीसाधनको कारोबार, २० अर्ब राजस्व गुम्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको कर्जा प्रवाहमा कडाईको नीति अबलम्बन गरेपछि सवारीसाधन क्षेत्रको कारोबार ६० प्रतिशतले घटेको व्यवसायी सौरभ ज्योतिले बताएका छन् ।

आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिका लागि सुझाब दिन राष्ट्र बैंकले सोमबार आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य ज्योतिले यस्तो बताए ।

राष्ट्र बैंकले सवारीसाधनमा भएको लगानीलाई अनुत्पादक क्षेत्र भन्दै गत फागुन १० गते चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै मूल्यको ५० प्रतिशतसम्म मात्रै बैंकहरुले सवारीसाधन कर्जा दिन पाउने व्यवस्था गरेको थियो ।

त्यसयता सावारीसाधन क्षेत्रबाट राज्यले २० अर्ब रुपैयाँ राजस्व गुमाएको व्यवसायी ज्योतिले जानकारी दिए ।

‘राष्ट्र बैंकले मूल्यको ५० प्रतिशतसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था गरेपछि अटो क्षेत्रको कारोबार ६० प्रतिशतले घटेको छ भने राज्यले २० अर्ब रुपैयाँ राजस्व गुमाएको छ,’ ज्योतिले भने, ‘गभर्नरसापलाई यसमा ध्यानाकर्षण गराउँदै धितोको ७० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था मिलाइदिन हाम्रो आग्रह छ ।’

राष्ट्र बैंकले कडाई गर्नुअघि बैंकहरुले सावारीसाधनमा ९० प्रतिशतसम्म कर्जा लगानी गर्दै आएका थिए ।

व्यवसायीहरुको माग बमोजिम राष्ट्र बैंकले पहिले गरेको कडाईमा केही खुकुलो गर्ने तयारी समेत थालेको छ ।

यो पनि पढ्नुहोस्- ‘अटो लोन’को सीमा बढाउने राष्ट्र बैंकको तयारी

Publish on: