पर्वत । चालु आर्थिक वर्ष २०७३/७४ मा जिल्ला कृषि विकास कार्यालयले किसानलाई कृषि औजार वितरण गरेको छ ।
कार्यालयले ५० प्रतिशत अनुदानमा मिनि पावरटेलर (यान्त्रिक हलो), साना सिँचाइ योजना, प्लास्टिक पोखरी, भूकम्प पीडितका लागि मिनि थ्रेसर, सुन्तला प्याकिङ कार्टुन र तरकारी ढुवानी क्रेटलगायत सामग्री वितरण गरेको हो ।
चालु आवमा १२० यान्त्रिक हलो वितरण गरिएको छ । ७५ हजार रुपैयाँ मूल्य बराबरको यान्त्रिक हलो ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । कृषि कार्यालयले ६२ वटा तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ५० तथा सांसद विकास कोषमार्फत १८ वटा यान्त्रिक हलो ५० प्रतिशत अनुदानमा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।
यस्तै ३१ लाख ५० हजार रुपैयाँ लागतका ७२ वटा साना सिँचाइ योजना सम्झौता भई सम्पन्न हुने चरणमा छन् भने २२ लाख ५० हजार रुपैयाँ लागतका ११५ प्लास्टिक पोखरी निर्माण गरिएको छ ।
नब्बे प्रतिशत अनुदानमा भूकम्पपीडितका लागि पेडी मिनि थ्रेसर पाँच थान, प्लास्टिक पोखरी सातवटा र कर्न थ्रेसर ११ थान वितरण गरिएको छ । बीउ भण्डारण गर्न तीन हजार २०० वटा हमेस्टिक ब्याग निःशुल्क वितरण गरिएको रेग्मीले बताए।
सुन्तला कृषकको मागअनुरुप सुन्तला प्याकिङ कार्टुन दुई हजार ५० वटा तथा तरकारी ढुवानी क्रेट १७८ थान ९० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।
SHARE YOUR THOUGHTS