सेयर कारोबारमा भ्याट प्रकरणः छुट हुन्छ भनेर कानुनमै लेखेको भेटियो « Eglish Khabarhub

सेयर कारोबारमा भ्याट प्रकरणः छुट हुन्छ भनेर कानुनमै लेखेको भेटियो




काठमाडौं । सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने बिषयमा नयाँ ‘ट्वीष्ट’ आएको छ । सेयर ब्रोकर भ्याटमा दर्ता हुने प्रक्रियामा रहेको बेलामा आन्तरिक राजस्व विभागले जारी गरेको निर्देशनमा सेयर ब्रोकर सेवालाई भ्याट छुट हुने समुहमा समाबेश गरेको पाइएको छ ।

भ्याट ऐनको अनुसुची १ मा भ्याट छुट हुने बस्तु तथा सेवाको सुचीमा वित्तीय सेवा समाबेश गरिएको छ । तर, वित्तीय सेवाको ब्याख्या गरिएको थिएन । विभागले निर्देशिकामा वित्तीय सेवाको ब्याख्या गर्दै सेयर कारोबारलाई पनि वित्तीय सेवा अन्तरगत राखेपछि सेयर ब्रोकर भ्याटमा दर्ता आवश्यक छ कि छैन भन्ने नयाँ बहस सुरु भएको छ ।

विभागले जारी गरेको मूल्य अभिबृद्धि कर निर्देशिका २०६९ (पहिलो संसोधन, २०७३) को दफा ४.१७ मा वित्तीय सेवाको ब्याख्या गरेको हो । सो ब्याख्यामा ‘बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने बचत संकलन र ऋण प्रवाह सम्बन्धि सेवा, बचत वा कर्जा सुरक्षण सेवा, अबकास कोष सम्बन्धि सेवा, सेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निस्कासन वा ब्यवस्थापन वा खरीद बिक्रीसँग सम्बन्धित सेवा, मुद्रा विनिमय वा हस्तान्तरण सेवा, विप्रेषण सेवा जस्ता सेवालाई वित्तीय सेवा भनिन्छ । मूल्य अभिबृद्धि कर ऐनमा यस्तो सेवामा कर छुट हुने ब्यवस्था रहेको छ,’ भनेर उल्लेख्य गरिएको छ ।

महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणका क्रममा सेयर ब्रोकर कमिसनमा भ्याट लगाउनु पर्ने उल्लेख गरेपछि कर प्रशासनले ब्रोकरलाई भ्याटमा दर्ता हुन पत्राचार गरेको थियो । यस्तै आन्तरिक राजस्व विभागले आगामी साउनदेखि ब्रोकर कमिसनमा भ्याट लगाउने तयारी थालेको थियो । तर विभागले गरेको ब्याख्यामा सेयर खरिद बिक्री सेवासमेत वित्तीय सेवा अन्तरगत राखेर भ्याट छुट हुने भनेपछि ब्रोकर भ्याटमा दर्ता हुने विषयमा थप अन्योल उत्पन्न भएको छ ।

Publish on: