काठमाडौं । समस्याग्रस्त घोषणा गरिएका बैंक तथा वित्तीय संस्था किन्नेले तोकिए अनुसारको चुक्ता पुँजी पुर्याउन अतिरिक्त समय पाउने भएका छन् ।
सामान्य अबस्थामा रहेका बैंक तथा वित्तीय संस्थाले यही असार मसान्तसम्ममा तोकिए अनुसारको चुक्ता पुँजी पुर्याउनु पर्ने भए पनि समस्याग्रस्त संस्था खरिद गर्नेहरुको लागि छुट्टै ब्यवस्था गर्न लागिएको नेपाल नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
‘राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका र रिजोलुसन प्रक्रिया सम्पन्न भएपछि संचालनमा आएका बैंक तथा वित्तीय संस्थाले पनि यही असार मसान्तभित्रमा तोकिए अनुसारको चुक्ता पुँजी पुर्याउनु पर्छ भन्ने होइन, मृत्यूको संघारमा पुगेर पुन संचालनमा आएका संस्थाहरुको लागि केही सुबिधा दिनुपर्छ, त्यसैकारण यस्ता संस्थाहरुले कहिलेसम्ममा तोकिए अनुसार चुक्ता पुँजी पुर्याउदा हुन्छ भनेर हामी कार्ययोजना बनाउदै छौं, कार्ययोजना पारित भएपछि म्याद थाहा हुन्छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले क्लिकमाण्डूसँग भने ।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका मध्ये जनरल फाइनान्स संचालनमा आइसकेको छ । गोर्खा विकास बैंक काठमाडौं फाइनान्सले किनेर संचालनमा ल्याइसकेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरु पनि नयाँ समुहले किनेर संचालनको गृहकार्य गरिरहेको छ ।
राष्ट्र बैंकले यही असार मसान्तसम्मा बाणिज्य बैंकहरुको न्युनतम चुक्ता पुँजी ८ अर्ब राष्ट्रियस्तरका विकास बैंकहरुको २ अर्ब ५० करोड र राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनुपर्ने भनेको छ ।
SHARE YOUR THOUGHTS