काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) नलगाउन आग्रह गरेको छ ।
सेयर कारोबारमा भ्याट लगाइए राजनीतिक हंगामा हुने तथा आफूहरुले सेयर कारोबार नै ठप्प पार्ने फोरमका महासचिब बच्चुराम रिमालले बताए ।
सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउदा करका कुनै पनि दरमा परिवर्तन नगर्ने प्रतिबद्धता जनाएर बजेट ल्याएको तथा मूल्य अभिबृद्धि कर निर्देशिकामा सेयर कारोबारमा भ्याट नलाग्ने भनेर प्रष्ट उल्लेख गरिएको अबस्थामा भ्याट लगाउने तयारी गर्नु राजनीतिक र कानुनी हिसाबले उचित नहुने महासचिब रिमालको भनाइ छ ।
‘निर्वाचन आचारसंहिता लागेको बेलामा करका कुनै पनि दर परिवर्तन गर्दिन भनेर सरकारले आर्थिक ऐन ल्याएको छ, यसकारण मिल्ने क्षेत्रमा पनि नयाँ कर लगाउन पाइदैनथ्यो, झन सेयर कारोबारमा भ्याट लाग्दैन भनेर मूल्य अभिबृद्धि कर निर्देशिका २०६९ को दफा ४.१७ मा प्रष्ट उल्लेख भएको अबस्थामा भ्याट लगाउन पाइदैन,’ महासचिब रिमालले क्लिकमाण्डूसँग भने ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिस्टममा फेरबदली गरेर सेयर कारोबारमा भ्याट लगाउने तयारी भएको र त्यस्तो भ्याट लगानीकर्ताको थाप्लोमा हाल्न खोजिएको जानकारी आफूहरुले पाएको रिमालले बताए ।
यस्तो अबस्था आएमा सरकारले राजनीतिक बेइमानी गरेको ठहर हुने उनको भनाइ छ । संसदमार्फत जनतालाई एउटा कुरा भन्ने र प्रशासनिक तबरबाट अर्कै काम गर्ने हो भने त्यसको कानुनी तथा राजनीतिक उपचार खोजिहुन सक्ने अबस्था आउने र राजनीतिक हंगामा हुने उनको दाबी छ ।
यस्तै फोरमले बुधबारै विज्ञप्ति जारी गर्दै सेयर बजार भ्याटमुक्त क्षेत्र भएकोले भ्याट लगाउने बिषय आफूहरुलाई मान्य नहुने बताएको छ । सेयर कारोबारमा भ्याट लगाउने हो भने भ्याट लगाउन थालेकै दिनदेखि आफूहरुले सेयर कारोबार नै ठप्प पार्ने चेतावनी पनि फोरमले दिएको छ ।
SHARE YOUR THOUGHTS