२९ मंसिर २०८२, आइतबार

१ करोड २४ लाखको लागतमा भक्तपुरमा पुल निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आज भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका (साविकको सुडाल गाविस) जोड्ने नव निर्मित गोसं पुल उद्घाटन गरेका छन् ।

उनले स्थानीय निकाय र जनताको सक्रियतामा विकास कार्यलाई तीव्रता दिनसके काम सफल हुने बताए ।

नेपाल सरकारको आर्थिक सहयोग र स्थानीय सडक पुल सहयोग एकाइको प्राविधिक सहयोगका साथै भक्तपुर जिल्ला समन्वय समिति र स्थानीय जनताको संयुक्त पहलमा कुल एक करोड २४ लाख रुपैयाँको लागतमा १० दशमलव ६ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माण भएको स्थानीय विकास अधिकारी धु्रवबहादुर कोइरालाले जानकारी दिए ।

विसं २०७३ मा भण्डारी थुतुङ एण्ड श्यामबाबु जेभी कम्पनीले उक्त पुल बनाउने सम्झौता गरेर १२ लाख रुपैयाँको पहिलो किस्ता पुल भत्काउने काम गरे पनि पुल बनाउने काम नगरेपछि स्थानीयको सहयोगमा पुल निर्माण गरिएको हो ।

जिल्ला प्राविधिक कार्यालयकी इन्जिनियर सरिता उपाध्यायले ९० लाख रुपैयाँको काम भए पनि १ करोड ६ लाख रुपैयाँ भुक्तानी भएको बताउँदै वातावरीयण सुधार, खोलाको संरक्षणलगायतका १० प्रतिशत काम बाँकी रहेको बताएन् ।

काम गर्न नसकेकै आधारमा ठेकेदार कम्पनीलाई ८ लाख ६१ हजार रुपैयाँ जरिवाना तिराएसंगै जिल्ला समन्वय समितिले ठेक्का रकम मै पुल निर्माण गर्ने गरी स्थानीय सुडाल रोड इँटा व्यवसायी समितिलगायतको सहयोगमा पुल निर्माण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, स्थानीय विकास अधिकारी धु्रव कोइराला, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीलगायतले कुनै पनि विकासमा अब स्थानीय निकायले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पुल निर्माणमा सहयोग गर्ने व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो ।