४ अर्बमा ६० रोपनी जग्गा किन्दै दूरसंचार प्राधिकरण « Eglish Khabarhub

४ अर्बमा ६० रोपनी जग्गा किन्दै दूरसंचार प्राधिकरण




काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्याटेलाइट प्रयोगमा आवश्यक पर्ने अर्थ स्टेशन स्थापनाको लागि ४ अर्ब रुपैयाँको जग्गा खरिद गर्ने तयारी गरेको छ ।

प्राधिकरणले आगामी दिनमा आवश्यक पर्ने अर्थस्टेशन निर्माणको लागि ललितपुरको भैंसेपाटीमा रहेको रेडियो नेपालको जग्गा खरिद गर्ने प्रकृयाका लागि सूचना तथा संचार मन्त्रालयमा प्रस्ताव गरेको हो ।

रेडियो नेपालको ६० रोपनी जग्गा प्रतिआना ४० लाख रुपैयाँका दरले किन्न लागेको हो । प्रतिआना ४० लाख रुपैयाँको दरले ६० रोपनी जग्गा खरिद गर्न ३ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी खर्च लाग्नेछ ।

यसको लागि प्राधिरकणले चालु आर्थिक वर्षको वार्षिक योजनामा पनि समाबेश गरेको छ । प्राधिकरणले यस्तो प्रस्ताव गरेपनि रेडियो नेपालको बोर्डमा अझै छलफल नभएको प्राधिकरण स्रोतले बतायो ।

‘दुबै संस्था सूचना तथा संचार मन्त्रालय मातहत भएको हुँदा संभवत यो विषय छिटै टुंगो लाग्नेछ,’ प्राधिकरण स्रोतले क्लिकमाण्डूलाई भन्यो ।

प्राधिकरणले रेडियो नेपालको जग्गा खरिद गरेपछि सो स्थानमा अत्याधुनिक प्रविधिसहितको अर्थस्टेशन निर्माण गर्ने योजना लिएको छ । त्यसैगरी आधुनिक भवन बनाएर कन्भेन्सन सेन्टरको रुपमा विकास गर्ने योजना पनि प्राधिकरणको छ ।

भारतले सार्क मुलुकहरुका बीचमा सूचना तथा संचार आदान प्रदान गर्नका लागि केही महिनाअघि प्रक्षेपण गरेको सार्क सेटेलाइट नेपालले पनि प्रयोग गर्न सक्ने वा आफ्नै सेटेलाईट प्रक्षेपण गर्नसक्ने भन्दै त्यसको लागि अर्थ स्टेशन बनाउन लागिएको हो ।

Publish on: