तामझामका साथ मनोयन दर्ता, उमेदवार बाजागाजा र नारासहित निर्वाचन कार्यालयमा

तामझामका साथ मनोयन दर्ता, उमेदवार बाजागाजा र नारासहित निर्वाचन कार्यालयमा


सप्तरी । सप्तरी जिल्लामा  स्थानीय तह निर्वाचनको विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि विभिन्न तामझामका साथ मनोयन दर्ता बुधवार बिहान १० बजेबाट शुरु भएको छ ।

प्रदेश नं २ मा स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, राप्रापा लगायतका विभिन्न पार्टीले आ–आफनो पार्टीका उमेदवारसँगै लावालस्करसहित जिल्लाको स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

पूर्ण सुरक्षाको व्यवस्था गरिएको प्रत्येक निर्वाचन अधिकृतको कार्यालयअगाडि ठूलो भीड लागेको थियो । बिहान १० देखि साँझ ५ बजेसम्म मनोयन दर्ताका लागि राजनैतिक दलहरु आ–आफ्नो पार्टी कार्यालयबाट ट्रक, बस, जिप, ट्र्याक्टर टेम्पो, म्याजिक र मोटरसाइकलमा झण्डा र पार्टीको ब्यानर लगाएर बाजागाजा र नारासहित निर्वाचन कार्यालय पुगेका थिए  ।

सवारी साधन सहितको मानिसको भिडका कारण बजारको चिया तथा नास्ता पसलमा  खाजा खाने तथा पेट्रोल पम्पमा डिजेल लिनेको भीड लागेको थियो । स्थानीयवासी दिनेशचन्द्र गुप्ताले २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको र यसबाट अधिकारसम्पन्न जनप्रतिनिधि छनोट हुने भएकाले त्यसका लागि प्रदेश नम्बर २ का जनता उत्साहित भएको बताए।