२९ मंसिर २०८२, आइतबार

यी नेपाली कम्पनी, जसले सेयरधनीलाई दशैंअघि नै बोनस दिँदैछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैं अर्थात् हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा महत्वपूर्ण चाड । यो चाडका बेला नेपालीहरुलाई मोटो रकम खर्च चाहिन्छ । किनभने दशैं वर्षको सबैभन्दा बढी किनमेल गरिने पर्व हो ।

गरिबहरु ऋण काढेरै भएपनि दशैं मनाउँछन् । नयाँ लुगा फेर्छन् । मिठो मसिनो खान्छन् । धनीहरुका लागि त सँधै दशैं हुने नै भयो । मध्यम वर्गका लागि भने दशैंले नै ऋण नै लगाइ हाल्दैन । तर, खर्चको जोहो गर्ने चटारोको चाप भने परेको हुन्छ ।

खुसीको कुरा के त के छ भने तपाईंले सेयरमा लगानी गर्नुभएको छ भने केही कम्पनीले तपाईलाई अघि नै लाभांस दिँदैछन् । जसले तपाईंलाई दशैं खर्चमा समेत योगदान पुर्याउँछ नै ।

विकसित देशहरुतिर विषेश चाडका बेला कम्पनीहरुले सेयरधनीलाई लाभांस दिन्छन् । यसको उद्देश्य सेयरधनीलाई चाड मान्न सजिलो होस् भन्ने पनि हो ।

तर, नेपालमा भने नगद लाभांस भन्दा कसले बढी बोनस सेयर र हकप्रद सेयर सेयर दिन्छ भनेर त्यो कम्पनीको सेयर किन्ने प्रचलन छ ।

र, कम्पनीहरुले पनि बोनस सेयरमार्फत पुँजी जुटाउने गरेका छन् । जसकारण नगद लाभांसभन्दा बोनस सेयरको बढी चर्चा हुने गरेको छ ।

केही वर्षदेखि बैंक तथा बीमा कम्पनीहरुले बोनस सेयरलाई भन्दा नगद लाभांसलाई प्राथमिकतामा राखेर लाभांस वितरण गर्नेछन् । अहिले चुक्ता पुँजी बढाउने दबाबमा बैंक तथा बीमा कम्पनीहरुले सकेसम्म धेरै बोनस सेयर वितरण गरिरहेका छन् ।

केही नेपाली कम्पनीहरुले आफ्ना सेयरधनीलाई दशैंअघि नै लाभांस दिँदैछन् । कतिपयले लाभांस वितरणसमेत गरिसकेका छन् भने कतिपयले केही दिनभित्रै गर्दैछन् ।

दशैंअघि नगद लाभांस पाउनुभयो भने तपाईंलाई दशैं खर्च जुटाउन पक्कै पनि सजिलो हुन्छ ।

अहिलेसम्म ७ कम्पनीहरुले दसैँअघि नै लाभांश दिने घोषणा गरिसकेका छन् । नविल बैंक, एनआइसी एसिया बैंक, सिटिजन्स बैंक, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ङादी हाइड्रो, फस्र्ट माइक्रोफाइनान्स दसैँअघि नै लाभांश दिने भएका हुन् ।

नविलले ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिँदैछ। त्यसैगरी, एनआइसी एसियाले २० प्रतिशत र सिटिजन्सले १६ प्रतिशत बोनस तथा सोको कर प्रयोजनका लागि नगद लाभास पारित गरिसकेका छन् । यी कम्पनीको भदौ ३० गतेको साधारणसभाले सञ्चालक समितिको सो प्रस्ताब पारित गरेको हो ।

ङादी हाइड्रो र नेको इन्स्योरेन्सले १०– १० प्रतिशत बोनस सेयर दिँदैछन्। फस्र्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर दिने भएको छ। नेपाल इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयरको घोषणा गरेको छ ।

ङादीको असोज ४, फस्र्ट माइक्रोफाइनान्सको असोज ८, सिटिजन्सको असोज ९, नविलको असोज १० र नेकोको असोज १० गतेको साधारणसभाले लाभांस प्रस्ताब पारित गर्दैछ ।

लाभांश घोषणा गरेका इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, एनबी बैंक, ग्लोबल आइएमई र सनराइज बैंकले दसैँपछि मात्रै लाभांस दिने भएका छन् ।

एनबी बैंकले १२ र सानिमाले १६ प्रतिशत बोनसको घोषणा गरेका छन्। ग्लोबल आइएमई बैंकले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांशको घोषणा गरेको छ।

इन्भेष्टमेन्टले २५ प्रतिशत नगद तथा १५ प्रतिशत बोनस सेयर दिने भएको छ। सनराइज बैंकले १५ प्रतिशत बोनस सेयर दिने भएको छ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षबाट कमाएको नाफाबाट लगानीकर्तालाई लाभांस वितरण गरिसकेको हुनुपर्ने छ ।