गाईघाट । जिल्लाको कटारी नगरपालिको महत्पूर्ण व्यापरिक केन्द्र कटारी बजारमा रहेका सरकारी वाणिज्य बैंकसहित केही निजी बैंकले दशैँको समयमा समेत एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् ।
कटारी बजारमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखाका रुपमा रहेको वाणिज्य बैंकलेसमेत अहिलेसम्म एटिएम सेवा सञ्चालन नगर्दा दशैँको समयमा बैंकबाट आठ/दश हजार रुपैयाँ खर्च निकाल्न पनि दिनभरि लाइनमा उभिनपर्ने बाध्यता भएको स्थानीय नरेन्द्र दाहाल बताउँछन् ।
वाणिज्य बैंकलगायतका निजी बैंकलेसमेत चाँडै एटिएम सेवा सञ्चालन गर्ने भनेर ग्राहकलाई झूठो आश्वासन दिने गरेको धेरै समय भइसक्यो, यसपटकको दशैँमा वाणिज्य बैंकलगायत अन्यले पनि यो कुरा पूरा गर्न सकेनन्,’ कटारीकै स्थानीय व्यापारी माया श्रेष्ठ भन्छन् ।
आफूहरुले पटक-पटक एटिएम सेवा सञ्चालन गरिदिन वाणिज्य बैंकलगायत अन्य बैंकका शाखा प्रमुखलाई अनुरोध गर्ने गरेकामा हुँदैछ भनेर टार्ने गरेको गुनासो अर्का स्थानीय देवीका सुनुवारको छ ।
यता कटारी वाणिज्य बैंकका प्रमुख उमापति बास्तोलाले यसअघि नै दशैँको समयसम्ममा एटिएम सेवा सञ्चालन हुने बताए पनि अहिलेसम्म सञ्चालन हुन नसकेको आम कटारीवासीको गुनासो बढेको बताउँछन् ।
वाणिज्य बैंकका एक कर्मचारीका अनुसार एटिएम जोड्ने प्रक्रियाका लागि सम्बन्धित निकायमा अनुरोध गरिसकिएको तर सम्बन्धित स्थानबाट नै अहिलेसम्म काम हुन सकेको छैन ।
राष्ट्रिय वाणिज्य बैंकलगायत कटारीमा अन्य आधा दर्जन निजी बैंक छन् । दशैँलाई ध्यानमा राखेर भर्खरै एनएमबी बैंकले भने एटिएम सेवा सञ्चालन गरेको सम्बन्धित बैंकका कर्मचारीले बताएका छन् ।
SHARE YOUR THOUGHTS