काठमाडौं । लगानी योग्य पुँजी (तरलता) अधिक भएपछि बैंकहरुले सेयर कर्जाको नयाँ र आकर्षक स्किमहरु ल्याएका छन् । ६/७ महिनादेखि ठप्पजस्तै हरेको सेयर कर्जा बैंकहरुले ल्याएको नयाँ स्किमसँगै बढ्ने देखिन्छ ।
गत मंसिरदेखि जेठसम्म बैंकिङ प्रणालीमा तरलता अभाव भएको थियो । राष्ट्र बैंकको कडाइ र तरलताको चरम अभावका कारण बैंकहरुले चाहेर पनि सेयर धितो राखेर दिने कर्जा बढाउन सकेका थिएनन् ।
तर, भदौ महिनादेखि भने बैंकहरुले सेयर धितो कर्जा विस्तार गर्ने रणनीति अबलम्बन गरेका छन् । त्यसका लागि बैंकहरुले आकर्ष स्किम ल्याएका हुन् ।
एनआईसि एशिया बैंकले आवेदन दिएको २ दिनमै सेयर धितो कर्जा उपलब्ध गराउने आकर्षक स्किम सञ्चालनमा ल्याइसकेको छ । सेयर कर्जा लिनका लागि सरल प्रक्रिया र न्यूनतम कागजी आवश्यकताको व्यवस्था गरेको बैंकले जनाएको छ ।
ग्राहकले बैंकका १२० वटै शाखाबाट न्यूनतम २५ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्म सेयर धितोमा कर्जा लिन सक्नेछन् ।
त्यसैगरी, ज्योति विकास बैंकले सेयर धितो राखेर १ दिनमै कर्जा दिने स्किम ल्याएको छ ।
‘ज्योति सेयर कर्जा’ नामक यो स्किममा बैंकले बैंकले आवश्यक कागजात बुझाएको दिनमै कर्जा दिने जनाएको छ । बैंकले यस्तो कर्जामा व्याजदर कति लिने भन्ने चाहीँ खुलाएको छैन ।
त्यसैगरी, नविल बैंकले पनि ‘सजिलो कर्जा नै नविल सेयर कर्जा’ भन्ने नारासहित योजना ल्याएको छ । आकर्षक ब्याजदरमा कर्जा लिन सकिने भन्दै नबिलले छिटोभन्दा छिटो सेयर कर्जा स्वीकृत गर्ने जनाएको छ ।
मुक्तिनाथ विकास बैंकले पनि सेयर कर्जाको योजना सरु गरेको छ । सेयर कर्जा लिने ऋणीसँग सेवा सुल्क नलिने बैंकले जनाएको छ । यो बैंकले पनि आवश्यक कागजात पेश गरेको २ दिनमै सेयर कर्जा उपलब्ध गराउने जनाएको छ ।
बैंकले न्यूनतम १२ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिँदै आएको प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।
त्यसैगरी, कैलाश विकास बैंकले कागजात पेश गरेको ७ दिनभित्रै सेयर कर्जा उपलब्ध गराउने ‘कैलाश सेयर कर्जा’ नामक स्किम ल्याएको छ । यो बैंकले बैंकले १२ प्रतिशत ब्याजदरमै सेयर कर्जा दिने जनाएको छ ।
पछिल्ला केही सातामा बैंक तथा वित्तीय संस्थाहरुले धमाधम सेयर कर्जाका आकर्षक योजना सार्वजानिक गरिरहेका छन्
बैंकहरुले ल्याएको यो स्किमसँगै सेयरमा लगानी गर्ने मन हुँदाहुँदै पनि पैसा नभएर चुपचाप बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
बैंकहरुले ऋणीलाई आकर्षित गर्नका लागि ब्याजसमेत घटाउन थालेका छन् ।
बैंकहरुले यस्तो स्किम ल्याउनु अघि सेयर धितो कर्जा लिँदा १५/१६ प्रतिशत ब्याज तिर्नुपथ्र्यो । ब्याज महंगो भएपछि सेयर कर्जा लिनेहरु निरुत्साहित हुँदै आएका थिए ।
बैंकहरुले सेयर कर्जाका स्किमहरु ल्याएसँगै सेयर बजार सूचक नेप्से केही बढेको छ । अधिक तरलताका कारण दशैं पछिदेखि बैंकको ब्याजदर अझै घट्ने भएकाले दशैंपछि सेयर कर्जा अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।
अहिले बैंकिङ प्रणालीमा ७२ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता छ । तरलताको फ्क्चुएसनका कारण बैंकहरु उक्त रकम दीर्घकालका लागि लगानी गर्ने पक्षमा छैनन् । त्यसैले सेयर कर्जामा केन्द्रित भएका हुन् ।
राष्ट्र बैंकका अनुसार बैंकहरुले बजार मूल्यको ५० प्रतिशतसम्म सेयर कर्जा दिन पाउने छन् । राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा थप अंकुश लगाउदै बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (करो क्यापिटल) को ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
गत वर्ष मार्जिन प्रकृतिको कर्जा लगानी साढे ७ प्रतिशत बढेर ४० अर्ब ४७ करोड ५७ लाख रुपैयाँ पुगेको थियो । यस्तो कर्जा गत वर्ष मात्रै २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ बढेको थियो ।
SHARE YOUR THOUGHTS