मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेलिकमको मोबाइल एप्समार्फत लाइभ टिभी तथा भिडियो स्ट्रिमिङ हेर्न सकिने


काठमाडौं। नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् ।

यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ मंगलवारबाट सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रा.लि.को सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो ।

सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना छ । त्यसैगरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ । नेपालमा उपलब्ध एफएम रेडियो समेत यही एप्समार्फत सुन्न सकिने बताईएको छ ।

यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको छ ।

एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।