४ अर्ब ९० करोड बराबरको म्युचुअल फण्ड आउँदै « Eglish Khabarhub

४ अर्ब ९० करोड बराबरको म्युचुअल फण्ड आउँदै



काठमाडौं । सेयर बजारमा विभिन्न कम्पनीले हकप्रद सेयर तथा बोनस दिएर लगानीका अवसर सिर्जना गरिरहेका बेला म्युचुअल फण्डमा पनि पछिल्लो दिनमा आकर्षण बढेको छ ।

धितोपत्र बजारको फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण मात्रै बढेको छैन, नयाँ नयाँ अवसरसमेत सिर्जना भइरहेको छ ।

नेपाल धितोपत्र बोर्डले बजार विविधिकरणका लागि भन्दै सिद्धार्थ इक्विटी फण्डलाई केही दिन पहिले मात्रै स्वीकृति प्रदान गरेको छ । कूल १ अर्ब २० करोड मूल्य बराबरको १२ करोड इकाइ बिक्री गर्न लागिएको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम सिद्धार्थ म्युचुअल फण्ड जारी गर्न स्वीकृति दिइएको छ ।

प्रतिइकाइ १० दरको १२ करोड इकाइमध्ये न्यूनतम १ करोड ८० लाख वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत कोष प्रवद्र्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सार्वजनिकरुपमा बिक्रीका लागि खुल्ला गरिएको हो । न्यूनतम एक सय इकाइ खरिद गर्नुपर्ने उक्त फण्ड यही असोज २९ गतेबाट खरिदका लागि आवेदन दिन सकिन्छ ।

यस्तै बोर्डले विभिन्न पाँच फरक फरक फण्डलाई समेत स्वीकृति दिने तयारी गरेको छ । बोर्डले हाल अध्ययन गरिरहेको ती फण्डको कूल मूल्य ४ अर्ब ९० करोड बराबरको इकाइ रहेको छ ।

कूल ४९ करोड इकाइ स्वीकृतिको चरणमा रहेको बोर्डका सहायक प्रवक्ता डा नवराज अधिकारीको भनाइ छ । ग्लोबल आइएमई ब्यालेन्स फण्ड– १ मा लगानीकर्ताले एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ खरिद गर्न सक्नेछन् ।

यस्तै सानिमा इक्विटी फण्डको १ अर्ब २० करोड मूल्य बराबरको १२ करोड इकाइ, सिटिजन म्याचुल फण्ड– १ को १ अर्ब मूल्य बराबरको १० करोड इकाइ, एनआइसी एशिया ग्रोथ फण्डको १ अर्ब मूल्यको १० करोड इकाइ र एनआइबिएल सहभागिता फण्डको ५० करोड मूल्य बराबरको पाँच करोड इकाइ खरिद गर्न सकिनेछ ।

साधारण शेयर १०० मा खरिद गर्न सकिन्छ भने यस्ता फण्डको मूल्य १० रहने गर्छ । शेयर बजारलाई थप विविधिकरण गर्ने र लगानीका स्रोत जुटाउने लक्ष्यका साथ यस्ता फण्ड तयार गरिन्छ । लगानीकर्तालाई उच्च प्रतिफल दिने र बजारलाई थप फराकिलो बनाउन म्याचुल फण्डको कारोबार गर्न लागिएको सम्बन्धित कम्पनीको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले बेलाबेलामा विकास ऋणपत्रको कारोबार गर्ने गरेको छ भने सोही प्रक्रिया अपनाएर विभिन्न कम्पनीले म्युचियल फण्डको कारोबार गर्न थालेको र त्यसलाई विविधकरण गर्न लागिएको बोर्डको भनाइ छ ।रासस

Publish on: