डोल्पाका स्थानीय तहमा बैंक सुविधाको माग « Eglish Khabarhub

डोल्पाका स्थानीय तहमा बैंक सुविधाको माग



डोल्पा । जिल्लाका आठवटा स्थानीय तहमध्ये सातवटामा बैंक सुविधा छैन ।

यहाँको ठूलीभेरी नगरपालिकाबाहेक अन्य सातवटा स्थानीय तहमा बैंक सुविधा नहुँदा सर्वसाधारण मारमा परेका छन् । बैंक सुविधा नहुने स्थानीय तहमा त्रिपुरासुन्दरी नगरपालिका तथा  जगदुल्ला, मुड्केचुला, डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङ्सोङ र काइके गाउँपालिका रहेका छन् ।

डोल्पाको पश्चिममा पर्ने जगदुल्ला गाउँपालिकामा एक महिना अगाडि नै नेपाल बैंकको शाखा विस्तार हुने भनिए पनि अझै हुन सकेको छैन । विकट क्षेत्रमा पर्ने स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कामकाज गर्न असहज भएको जनप्रतिनिधिको गुनासो छ ।

‘उपल्लो डोल्पाका स्थानीय तहमा बैंकको टड्कारो आवश्यकता छ, बैंकिङ सुविधा लिनका लागि हप्तौँ हिँडेर सदरमुकाम दुनै झर्नुपर्ने बाध्यता छ, एक्लै पैसा बोकर आउँदा जाँदा ज्यानको समेत खतरा छ,’ छार्काताङ्सोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले भने।

त्यस्तै त्रिपुरा सुन्दरी नगरपालिकाका–१ का अध्यक्ष कर्मसिंह थापा सम्बन्धित स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सानोतिनो आर्थिक कारोबारका लागि पनि सदरमुकाम दुनै जानु पर्ने बाध्यता रहेको बताउँछन्। कर्मचारीलाई सुरक्षा चुनौतीसमेत हुने गरेको उनको भनाइ छ ।

देशकै दुर्गम क्षेत्रका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदाको समस्यालाई मध्यनजर राख्दै यथाशक्य सरकारी तथा निजी बैंकका शाखा विस्तारका लागिसमेत सम्बन्धित निकायमा आग्रह गरिएको छ । ठूलीभेरी नगरपालिकामा नेपाल बैंक र सिटिजन्स बैंकले सुविधा दिइरहेका छन् ।

Publish on: