कमोडिटीज एक्सचेन्जका लगानीकर्ताले ५ वर्षसम्म सेयर बेच्न नपाउने « Eglish Khabarhub

कमोडिटीज एक्सचेन्जका लगानीकर्ताले ५ वर्षसम्म सेयर बेच्न नपाउने



काठमाडौं । कमोडिटीज एक्सचेन्जका लगानीकर्ताले लगानी गरेको ५ वर्षसम्म सेयर बिक्री गर्न नपाउने भएका छन् ।

धितोपत्र बोर्डले वस्तु विनिमय बजार सम्बन्धी नियमावलीमा लगानीकर्ताले ५ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था राखेको छ ।

नियमावलीले कमोडिटीज एक्सचेन्जमा सेयर लिएको ५ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था राख्न लागेको छ ।

अबको तीन सातापछि कमोडिटीज बजारको नियमन सुरु हुँदै छ ।

राष्ट्रपतिबाट प्रमाणिकरण भएको ९१ दिनपछि विधेयक कार्यान्वयन हुँने हुँदा तीनसातापछि कमोडिटीज बजार नियमनको दायरामा आउने छ ।

कमोडिटीज बजारको नियमनकारी निकाय धितोपत्र बोर्ड तोकिएको छ । बोर्डले अहिले नियमनको लागि नियमावली बनाउने काम गरेको छ ।

कमोडिटीज नियमन गर्ने ऐनमा कमोडिटीज एक्सचेन्जको लागि न्यूनतम चुक्ता पुँजी ५० करोड नघट्ने गरी बोर्डले तोके बमोजिम हुने उल्लेख छ ।

धितोपत्र बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठले ५० करोड पुँजी पुर्याएपछि मात्र कमोडिटीज एक्सचेन्जको अनुमति लिने प्रक्रिया सुरु हुने बताए ।

‘एक्सचेन्जले पुँजी पुर्याउनको लागि कुनैपनि समय पाउने छैन’श्रेष्ठले मंगलबार बोर्डले आयोजना गरेको कार्यक्रममा भने,‘५० करोड चुक्ता पुँजी पुगेपछि मात्र एक्सचेन्ज दर्ताको प्रक्रिया सुरु हुन्छ।’

विधेयकमा एक्सचेन्जमा कुनै एउटा व्यक्तिको सेयर चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुन नहुँने व्यवस्था छ । यस्तै विदेशी एक्सचेन्जले ५१ प्रतिशतसम्म लगानी गर्न पाउने छन् ।

विधेयक आएपछि अहिले संचालनमा रहेका कमोडिटीज एक्सचेन्जले संचालनको लागि अनुमति लिनुपर्छ । अनुमति नपाउने एक्सचेन्ज संचालन गर्न नपाउने व्यवस्था विधेयकमा छ ।

अहिले चार देखि पाँचवटा एक्सचेन्ज संचालनमा छन् । संचालनमा रहेका एक्सचेन्जले पनि ऐन अनुसार तोकिएको प्रक्रिया पुरा गरेर अनुमति लिनुपर्छ । तोकिएको प्रक्रिया पुरा नभएर एक्सचेन्ज संचालन गर्न पाउने छैन ।

धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले दुई साताभित्र नियमावली तयार पारिने बताए । ‘ऐनमा कतिपय विषय नियमावलीले प्रष्ट पार्ने भनिएको छ’,बोर्ड अध्यक्ष कार्कीले भने ।

बोर्डले नियमालीको विषयमा सरोकारवालासँग छलफल कार्यक्रम गरेको थियो । छलफलमा कमोडिटीज एक्सचेन्जका लगानीकर्ता तथा सरोकारवालाले विभिन्न खालका सुझाव दिएका थिए ।

नियमावलीमा कमोडिटीज एक्सचेन्जले लिन पाइने शुल्कको बारेमा उल्लेख हुने छ ।

Publish on: