सेयरको भित्री कारोबारको अनुसन्धानमा राष्ट्र बैंक र धितोपत्र बोर्डले सहकार्य गर्ने « Eglish Khabarhub

सेयरको भित्री कारोबारको अनुसन्धानमा राष्ट्र बैंक र धितोपत्र बोर्डले सहकार्य गर्ने




काठमाडौं । धितोपत्र (सेयर) को भित्री कारोबारको अनुसन्धानमा नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले सहकार्य गर्ने भएका छन् । बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले सुचना आदान प्रदान तथा पारस्परिक सहयोग सम्बन्धि सम्झौता गरेका हुन् ।

बोर्ड र राष्ट्र बैंकबीच यस्तो सम्झौता भएको बोर्डले जानकारी दिएको छ । धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइओएससिओको सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम सो संस्थाको एशोसियट सदस्य भइसकेको बोर्डले साधारण सदस्यता प्राप्त गर्न धितोपत्र बजारमा हुने कारोवार तथा अन्य गतिविधि सम्बन्धी कसुरको खोज÷अनुसन्धानका लागि बैकिङ्ग अभिलेखमा पहुँच हुनुपर्ने आवश्यक थियो । बोर्डले सो संस्थाको साधारण सदस्यता प्राप्त गर्नको लागि राष्ट्र बैंकसँग सम्झौता गरेको हो ।

‘वित्तीय प्रणालीका महत्वपूर्ण निकायका रुपमा रहेका बोर्ड र नेपाल राष्ट्र बैंकबीच आपसी सहयोग तथा सूचना आदान प्रदान गनुपर्ने देखिएको पृष्ठभूमिमा बोर्डले नेपाल राष्ट्र बैंकसँग द्विपक्षीय समझदारी तथा सम्झौता गर्न समन्वय गरी हालै बोर्ड र नेपाल राष्ट्र बैंकबीच अर्थ मन्त्रालयको रोहवरमा सूचना आदान प्रदान तथा पारस्परिक सहयोग सम्बन्धी द्विपक्षीय समझदारी तथा सहयोग सम्झौता सम्पन्न भएको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो सम्झौतापछि बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रका अन्य धितोपत्र बजारका नियमन निकायसँग धितोपत्र बजारसँग सम्बन्धित कसुरको खोज÷अनुसन्धानमा आवश्यक सहयोग गर्न तथा सहयोग लिनसक्ने महत्वपूर्ण आधार तयार भएको बोर्डको भनाइ छ । यस्तै नेपालको धितोपत्र बजार सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा प्रयोग हुनेसक्ने जोखिम न्यूनिकरण भई अन्तर्राष्ट्रिय स्तरमा नेपालको धितोपत्र बजारको साख अझ बृद्धि हुने अपेक्षा बोर्डले लिएको छ ।

Publish on: