नेपाली काँग्रेसले पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरु खटाउने « Eglish Khabarhub

नेपाली काँग्रेसले पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरु खटाउने



काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन हुने जिल्लाहरुमा केन्द्रीय निर्वाचन परिचालन समितिका प्रतिनिधिहरु पठाउने भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणको अध्यक्षमा बिहिबार पार्टी कार्यालय बीपी स्मृति भवन ललितपुरमा बसेको समितिको पहिलो बैठकले सो निर्णय गरेको हो ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार समितिको बिहिबारको बैठकले यसका अतिरिक्त प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीका उम्मेद्वारहरुलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा कार्यकर्ताको परिचालन,समन्वय,जनसम्पर्क र निर्वाचन क्षेत्रको अवस्थाका बारेमा समितिलाई जानकारी गराउन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

त्यसै गरी समितिले नेपाली कांग्रेसका सदस्य, भातृ एवम् शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यहरुका साथै लोकतन्त्रवादी साथीहरुलाई आ–आफ्ना निर्वाचन क्षेत्रभित्रका गाँउ एवम् नगरका वडा वडाका मतदातासमक्ष पुगी नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई विजयी गराउने अभियानमा सरिक हुन पनि आह्वान गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको आजको बैठकले काठमाडौंस्थित कांग्रेसका जिल्ला सम्पर्क समितिहरुलाई पनि निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले निर्वाचनका क्रममा निर्वाचन आचारसंहिताको परिधिभित्र रही हरेक निर्वाचन क्षेत्रमा घोषणा पत्र सहित प्रचारप्रसार सामग्री केन्द्रबाट निर्वाचन क्षेत्रमा नै पर्याप्त संख्यामा पुर्याउने  निर्णय पनि गरेको छ ।

बैठकमा परिचालन समितिले सदस्यहरुसंग प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका कार्यकर्ता,भातृ संगठन , शुभेच्छुक संघ,संस्था र पेशागत संघ संस्थाहरुको प्रभावकारी परिचालनका सम्बन्धमा राय सुझाव पनि लिएको थियो ।

Publish on: