३० मंसिर २०८२, सोमबार

अब क्रेडिट कार्डबाट २० प्रतिशतमात्रै नगद झिक्न पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । के तपाई क्रेडिट कार्ड प्रयोग गरिरहनु भएको छ ? वा क्रेडिट कार्ड लिने सोचमा हुनुहुन्छ । अब तपाईंले आफ्नो क्रेडिट कार्डमा भएको रकमको २० प्रतिशत मात्रै नगद झिक्न पाउनु हुने छ ।

नेपाल राष्ट्र बैंकले तयार पारेको अनलाइन पेमेन्ट सम्बन्धी नियमावलीमा क्रेडिट कार्डबाट २० प्रतिशत रकम मात्रै नगदमा झिक्न पाउने व्यवस्था गर्न प्रस्ताब गरिएको छ ।

क्रेडिट कार्ड तथा डेभिट कार्डहरु प्रयोगमा आएपनि नेपाली समाज क्यासलेस हुन नसकेपछि राष्ट्र बैंकले कडाई गर्न लागेको हो ।

‘हामीले भौतिक पैसाको कारोबार हटाएर क्यासलेस सोसाइटी निर्माण गर्न विभिन्न कार्डहरु ल्याएका हौं, कार्डधारीहरुले कारोबार गर्नुपरे कार्डबाट नगद झिकेर कारोबार गर्ने गरेकाले कडाई गर्न लागिएको हो,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले क्लिकमाण्डूसँग भने ।

अहिले क्रेडिट कार्डमा भएको रकमको ५० प्रतिशत नगदै झिक्न पाइने व्यवस्था छ ।

प्रवक्ता पौडेलका अनुसार राष्ट्र बैंकले डेविट कार्डबाट हुने कारोबारमा पनि रकम झिक्नका लागि केही कडाई गरेको छ ।

‘हाम्रो उद्देश्य भनेको कार्डधारीले कार्डबाटै कारोबार गरुन् भन्ने हो,’ उनले भने, ‘डेविट कार्डमा पनि केही कडाई गर्न प्रस्ताब गरिएको छ ।’

अनलाइनबाटै १ सय देखि ५ लाखसम्म भुक्तानी गर्न पाइने

राष्ट्र बैंकले विभिन्न शिर्षकमा न्युनतम १ सय रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म भुक्तानी गर्न मिल्ने गरी मस्यौदा पारेको छ ।

त्यसैगरी, राष्ट्र बैंक मोबाइलमार्फत गरिने भुक्तानी र अनलाईनमार्फत गरिने भुक्तानी गरी फरक–फरक सीमा तोक्न प्रस्ताब गरेको छ ।

मोबाइलमार्फत गरिने विभिन्न पानी, बिजुली, स्कुलकलेजको विल तथा अन्य भुक्तानीको लागि अधिकतम ४० हजार रुपैयाँसम्म र अनलाईनमार्फत गरिने भुक्तानीको लागि अधिकतम ५ लाख रुपैयाँसम्मको सीमा तोकिएको छ ।